१ चैत, रत्ननगर । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् ।
भरतपुर महानगरपालिका-१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन् । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ ।
उनी विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका छन् । उनी विगत नौ दिनदेखि हिन्दू परम्पराअनुसार मानिसको मृत्यु हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बसेका छन् । उनले भने ‘गौशालामा पालिएका गाई आफ्नो माता समान हुन् । गाईको सेवा गर्दा आफ्ना विभिन्न रोग निको भएको छ । गाईको सेवामा नै जीवन बिताउने छु ।’
योगी नरहरिनाथ आध्यात्मिक परिषद्का अध्यक्ष शैलेन्द्रकुमार पियाले केन्द्रमा संरक्षण गरिएका गाईलाई दीर्घकालीनरूपमा संरक्षण गरिराख्नका लागि अक्षयकोष निर्माण गरिएको जानकारी दिए । उनका अनुसार रु एक करोडको अक्षयकोष निर्माण गर्ने गरी अभियान नै अगाडि बढाइएको छ । अक्षयकोषको लक्ष्यअनुरुप नै विभिन्न व्यक्ति तथा दाताले कोषमा रकम थप गर्दै आइरहेका छन् ।
स्थानीय जातको गाईको दूध, गहुँत, गोबरमा औषधीय गुण हुने भएकाले समेत यसको संरक्षण र संवद्र्धन गर्नुपर्ने गौ संरक्षण केन्द्रका पूर्वसंयोजक टङ्कनाथ पौडेलले बताए । ‘हाम्रो स्थानीय जातको गाई जुन गाईको जुरो पलाएको हुन्छ, ती गाईका दूधसहित गहुँत र गोबरमा औषधीय गुण हुन्छ’, उनले भने, ‘हामीले वागीश्वरीमा शुद्ध गौ अर्क निर्माण बिक्री वितरण गर्दै आइरहेका छौँ ।’ स्थानीय जातको दूध तथा गहुँतको नियमित सेवनले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै क्यान्सर रोगबाट समेत मुक्ति मिल्ने उनको भनाइ छ ।