औपचारिकतामा नअल्झिनुस्, पार्टीको अभियानमा एकजुट भएर खट्नुस्:गिरी

  फागुन २८, २०७८

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दीपक गिरीले पार्टीको चुनाव लक्षित अभियानलाई सफल बनाउन निर्देशन दिएका छन् ।

Green City Pharmacy

नेपाली कांग्रेस बाँकेले निवर्तमान जिल्ला कार्यसमिति र निर्वाचन समितिलाई सम्मान गर्न आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले झिनामसिना र औपचारिक कार्यक्रममा नअल्झी चुनाव लक्षित अभियानलाई सफल र सार्थक बनाउन पार्टी पंक्तिलाई एकीकृत ढंगले लाग्न आह्वान गरे । ‘घर-घर जाउँ- काँग्रेस जिताऔं’ अभियानका लागि केन्द्रबाट बाँकेमा खटिएका गिरीले जिल्लाका सबै ८१ वटै वडामा पुग्न निर्देशन दिए । स्थानीय निर्वाचनमा बाँकेका सबै पालिका र वडामा पार्टीलाई जिताउन एकीकृत शक्ति देखाउन जरुरी रहेको गिरीले बताए ।

“पार्टीका सबै तह-तप्का तपाईंहरु अभियानमा लाग्नुस्, पार्टीलाई जिताउन टोल-टोल, गाउँ-गाउँमा हिंड्नुस्, म पनि तपाईंहरुसंगै हिँड्छु,” गिरीले भने-“एकीकृत स्पिरिटका साथ अब स्पीड बढाउनैपर्छ, अल्मलिएर हुँदैन ।” उनले भोली चुनाव लक्षित एक महिने अभियानको शुभारम्भ कार्यक्रममा उपस्थित हुन सबैलाई आह्वान गरेका छन् । पार्टी सभापति नारायणप्रसाद गौडेलले अभियानलाई सफल र सार्थक बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।

कार्यक्रममा निवर्तमान सभापति किरण कोइराला, नवनिर्वाचित उपसभापति गोपालप्रसाद अधिकारी, निर्वाचन समितिका प्रह्लादबहादुर कार्कीले बोलेका थिए । कार्यक्रममा निवर्तमान पार्टी सभापति कोइराला लगायत जिल्ला कार्यसमिति तथा प्रमुख निर्वाचन अधिकृत उदयमणि आचार्यसहित निर्वाचन परिचालन कमिटीका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर