ठगी मुद्दामा ठेकेदार अनुप पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी

  फागुन २६, २०७८

तुलसीपुर–घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा लिएका ठेकेदार अनुप पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

करोडौं ठगी गरेको भन्दै विभिन्न व्यक्तिले पाण्डेविरूद्ध उजुरी दिएपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन्।

पाण्डेविरूद्ध घोराही उपमहानगरपालिका-१५ भरतपुरका व्यवसायी तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य गेहेन्द्र बस्नेत एक्लैले १ करोड ४४ लाख ठगी गरेको भन्दै गत माघमा जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएका थिए।

आफ्ना छोराविरूद्ध उजुरी परेपछि नेकपा एमालेका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर समेत रहेका घनश्याम पाण्डेले बस्नेत लगायतसँग छलफल गर्दै आएका छन्। उनले विभिन्न चरणमा छलफल गरेर विवाद साम्य पार्न खोजेपनि रकम नपाएपछि बस्नेतले अनुपले दिएको चेकको प्रमाण पनि प्रहरीलाई बुझाएका छन्।

‘ठेकेदार पाण्डेविरूद्ध उजुरी अघिल्लो महिना नै परेपनि उहाँले आफैं कुरा मिलाउन खोज्दा हामीले ढिला गरी भएपनि पुग्दो प्रमाण पाएका हौं,’ एक प्रहरी अधिकारीले भने, ‘करोडौं ठगी मुद्दापछि विभिन्न पीडित व्यक्तिको जाहेरीका आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।’

फरार रहेका भनिएका पाण्डेलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको स्रोतले जनाएको छ।

‘प्रहरी ठेकेदार पाण्डेको खोजीमा छ र फेला पार्ना साथ नियन्त्रणमा लिन्छ,’ ती प्रहरी अधिकारीले भने, ‘कानुनको नजरमा सबै बराबर हुन्छ र सबैलाई प्रचलित कानुन अनुसार कारबाही हुन्छ।’

यसअघि उनका समाचारहरू प्रकाशित भएपछि अनुपले विज्ञप्ति जारी गर्दै आफ्नो बचाउ गरेका थिए।

यो पनि: ठेकेदार अनुप पाण्डेविरूद्ध झन्डै ६ करोड ठगेको भन्दै उजुरी

तपाईंको प्रतिक्रिया

थप खबर