काठमाडाैं, २१ फागुन। गत प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका राजु खनाललाई घोराहीको एउटा ‘अलपत्र’ पुलको जस आईलाग्यो। निर्माण कम्पनी/ठेकेदार वा निर्माण प्रक्रियामा सम्भावित त्रुटी भएका कारण पुल निर्माणको काम अलपत्रै भयो होला। तर संविधानसभाको पछिल्लो निर्वाचनबाट निर्वाचित खनाललाई कांग्रेस इतर समूहले त्यो पुल अलपत्र पार्ने दोषी ‘करार’ गरिदियो । दोष मानौँ त, खनालले आफ्नो सांसदको कार्यकालमा पुल निर्माणका लागि पहलकदमी लिएका थिए। फलतः उनी उक्त पुल निर्माणका पहलकर्ता थिए , तर चुनावको मुखैमा उनी नै पुल अलपत्र पारिदिने दोषीका रुपमा ‘चुनावी प्रचार’ भए । मानौँ उनी नै पुलका ठेकेदार हुन् ।
निर्वाचनमा जीत्नै पर्ने प्रतिष्पर्धामा रहेका कांग्रेस इतरका उम्मेदवारहरुले कटुवाखोला पुलसँग जोडेर खनाललाई विकास विरोधी उम्मेदवारको ‘ट्याग’ लगाइदिएर मतदाता आफ्नो पक्षमा पार्न खोजेको त्यो क्षण नत उनै खनालले भुलेका होलान्, नत उनको पार्टी कांग्रेसका कार्यकर्ताहरुले बिर्सिइसकेका होलान्। नत त्यो बेला पुल निर्माण अलपत्र पारेको भनेर विकास विरोधी नेताका रुपमा मतदाता समक्ष प्रचारवाजी गरेका उनै इतर समूहका उम्मेदवार तथा कार्यकर्ताहरुले आफूहरुको त्यो ‘बहादुरी’ भुल्नै चाहेका होलान् ।
चुनावी अंकगणितमा खनाल पछि परे। माओवादीका कृष्ण बहादुर महरा निर्वाचित भए। कांग्रेसको जनमत कमजोर भएका कारण खनालले हार्न पुगेको यथार्थतालाई नकार्न सकिने कुरै भएन। तर खनाल अनि कांग्रेसले हारको समिक्षाको एउटा प्रमुख विषय ‘कटुवा खोला पुलसँग जोडेर गरिएको प्रचार’ पक्कै पनि बनाए, अहिले पनि बनाईरहेकै होलान्। चुनावसँग आमनागरिकको जोडिने प्रमुख अपेक्षा भनेकै ‘विकास’ हो। चुनाव जितिसकेपछि त्यो प्रतिनिधिले के गर्छ ? आम मतदाताहरु पर्खेरै बसेका हुन्छन्। फलतः कांग्रेस इतरका दलहरुले यही ‘पब्लिक सेन्टिमेन्ट’ लाई ‘क्याच’ गरिदिए ।
स्थानीय तहको निर्वाचन मिति घोषणा भैसकेको छ। अघिल्लो प्रतिनिधिसभा निर्वाचन ताका ‘अधकचल्टो’ बनेको कटुवा खोला पुल जस्तै अहिले घोराही तुलसीपुरको ‘फोरलेन’ सडक ‘ङिच्च’ गरिरहेको छ। यो फोरलेन सडक आउने स्थानीय तहको निर्वाचनमा चुनावी एजेण्डा बन्ला की नबन्ला ? गत प्रतिनिधिसभा निर्वाचनमा कटुवा खोला जस्तै यो सडक ‘भाइरल’ हुने होला की नहोला ? हिजो राजु खनाललाई विकास विरोधी भनेर कटुवा खोलाको पुलसँग जोडेर प्रचारबाजी गरेकाहरु ‘ज्यानमारा’ फोर लेन सडकको विषयमा यो चुनावमा बोल्ने होलान् की नबोल्ने होलान् ?
छोरा ठेकेदार, बाबु मेयर, त्यो पनि उपमहानगरपालिकाको। गाउँको बडेमानको सिंहदरबारको नेतृत्व गरेका मेयर बाबुका छोराले वषौँसम्म सडक अलपत्र पार्दा त्यसको नैतिक जिम्मेवारी बाबु मेयरको हुँदैन ? तुलसीपुर उपमहानगरपालिकाको सर्वागिंण विकासको ‘ठेक्का’ हानेर चुनाव जितेका मेयर सापले आफ्नै छोराको विकास विरोधी कदमलाई कसरी टुलुटुलु हेरेर बसेको भनेर आमनागरिक तहबाट प्रश्न गर्ने बेला भएन र अझैँ ? फोरलेन सडक विस्तारका नाममा कच्रक्क पारिएको रोडमा कति यातायातका साधनहरु दुर्घटना भए ? अनि कति जनाको ज्यान गयो ? यसको हेक्का राख्ने दायित्व मेयर चुनेका आम मतदाताको हैन ? अनि ठेकेदारका बाबु मेयरले यसको जवाफ दिनु पर्ने हैन ? मेयर सापले जवाफ दिनलाई प्रश्न सोध्ने कसले र कहिले ?
तुलसीपुरलाई ‘स्मार्ट सिटी’ बनाउने ठेक्का हानेर मेयरको ‘पगरी’ गुथेका मेयर सापको स्मार्ट सिटिको परिकल्पनालाई ठेकेदार छोराले उदांगो बनाईदिएको यथार्थता कतै छिप्दैन । स्मार्ट सिटीको परिकल्पना के थियो र के भयो अहिलेसम्म ? उपमहानगरको दराजभित्र प्रगती विवरणहरु अनेकन होलान् । जतिसुकै होउन् । तर फोरलेनका नाममा खनिएको ‘चिहान’ ले ती सबै प्रगती विवरणहरु ध्वस्त भैसकेका छन् ।
नागरिकलाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने त्यो बेलाको चुनावी अजेण्डाको किताव छोएर कसम खाएका मेयर सापले आफ्नै छोराले अलपत्र पारेको सडकमा धुलो खाइरहेका आमनागरिकको स्वास्थ्य माथि परेको समस्या हेर्ने फूर्सद नभएको हो त ? यात छोराको गलत कदम पनि बाबुका लागि सही लागेको हो ? यो प्रश्न सोध्ने कसले र कहिले ?
फोर लेन विस्तारको योजना बन्यो । घोराही तुलसीपुरको साँघुरो सडकमा कुद्ने गरेका बग्रेल्ती सवारीका साधनहरुले ‘सडकमा ट्राफिक जाम’ हुने परिस्थती बनिसकेको थियो नै । यो सडकको विस्तार समग्र दंगालीका लागि खुसीको विषय थियो । सडक निर्माणको काम सुरु हुँदा दंगालीहरुले झनै आनन्दीत महसुस गरेको यथार्थता उँचो बिकासको हर्ष थियो । वर्ष बिते , दुई वर्ष बिते तर अब त ‘वर्षौँ’ बित्न थालिसके। तर फोरलेन सडक निर्माण हुने छाँटकाँट देखिन्न।
त्यही अलि अलि बनेको काममा पनि घोटाला गरेको भनेर ठेकेदारविरुद्ध परेको उजुरीले त सडकको लाज झनै ह्वांगै पारिदिएको छ। भलै प्रहरीले मेयर सापका ठेकेदार बिरुद्ध परेको उजुरीलाई कसरी हेरिरहेको छ ? उनी पक्राउ भने परेका छैनन्। विकास निर्माणमा झूठको आरोप, निर्माणमा गरिएको ‘ठगी’ को दाबी सहित प्रहरीमा हालिएको मुद्दाले फोर लेनको भविष्य के भन्ने आशंका उब्जाउनु स्वाभाविकै छ।
यसर्थ निर्माण गर्ने भनेर सडकको छेउछेउमा खनिएका ‘ज्यानमारा’ खाल्डामा परेर मृत्युवरण गर्नु परिरहेका घटनाहरु चुनावी एजेण्डा बन्न नहुने ? कटुवा खोलामा राजु खनाल मात्रै दोषी बन्नु पर्ने ? हिँजो राजु खनाललाई कटुवा खोलासँग जोडेर कृष्णबहादुर महराको पक्षमा बहुमत जुटाउनेहरुले ‘फोर लेनको’ नाममा निम्तिएको विनासलाई चुनावी एजेण्डा बनाउने हिम्मत गर्ने की नगर्ने? कि दोषी राजु खनाल मात्रै बन्नु पर्ने ? हिँजो कटुवा खोला पुललाई सबक सिकाउनेहरुले अब फोर लेनलाई सबक सिकाउनु पर्छ कि पर्दैन ? की दोषी कांग्रेस अनि राजु खनाल मात्रै हुन् ?