कहिलेकाहीं लाग्छ यो अक्षर खेती कहिलेसम्म गर्ने होला । जब समाचार या लेख (अक्षरको सामग्री) मा नाम झुण्डिएर पत्रपत्रिका वा अनलाइनहरूमा प्रकाशन हुन्छ जवाफ आफैं तयार हुन्छ – यो त जीवनको अन्तिम घडीसम्म चलिरहन्छ । साँच्चै भनेको, आँखाले अक्षर ठम्याउन छोडे पनि, अक्षर कोर्दा हात काम्न थाले पनि अबको पचास वर्षसम्म यसैगरी लेख्ने र नाम झुण्डिएको आफ्ना सामग्री पढ्ने मन छ ।
पत्रकारिता सुरु गरेको झण्डै ३० वर्ष पुग्यो, सयौं समाचार र लेख नाम झुण्डिएर प्रकाशन भएका छन् । फेरि पनि नाम झुण्डिएर प्रकाशित भएको समाचार वा लेखको प्रतीक्षामा हुने उत्साह उस्तै छ ।
दिनभरि स्रोत खोज्यो, सूचना एकट्ठा गर्यो, शब्दमा घोत्लियो, त्यसलाई जोडजाम गर्यो अनि प्रकाशनको लागि सम्बन्धित मिडियामा संप्रेषण गर्यो । यही हो दैनिकी तीस वर्ष अघिदेखिको । नाम झुण्ड्याउने चाह कति धेरै । अक्षर खेती सकेर समाचार वा लेख तयार गरी प्रकाशनको लागि संप्रेषण गरेदेखि उक्त समाचार या लेख प्रकाशन भएर हात नपर्दासम्मको उत्साह, कौतुहल, आशंका, त्रास र तड्पाई खपिनसक्नुको ।
उक्त सामग्री प्रकाशित होला कि नहोला, कुन पेजमा कस्तो ले-आउटसहित प्रकाशित होला, फोटो राख्छन् कि राख्दैनन् होला, नाम झुण्ड्याउलान् कि नझुण्ड्याउलान् (वाईलाइन आउँछ कि आउँदैन), सामग्री प्रकाशनपछिको पाठक प्रतिक्रिया कस्तो होला । यस्तै यस्तै तर्कनाले रातको निंद समेत हराम बनाउने । यसो निदाउन खोज्यो ध्यान त उही आफूले सम्प्रेषण गरेको खुराकतिरै ।
अक्षरको खेती सुरु गरेको २०४८/५० तिर चरिकोटमा पत्रिका पाउनै पनि कठिन । कुवेर थापाहरूले चलाएको कुवेर पानपसल थियो, पहिलो पटक त्यहाँ साप्ताहिक पत्रिकाहरू आउन थाले । त्यसपछि हारती स्टेशनरी खुलेपछि भने दैनिक पत्रिकाहरू समेत आउन थाल्यो । प्रकाशनको लागि आफूले सामग्री पठाएको भोलिपल्ट बिहान ११/१२ बजेसम्म हारती स्टेशनरी सेन्टरमा धर्ना हुन्थ्यो । किनभने पत्रिकामा आफ्नो सामग्री प्रकाशन भयो या भएन, प्रकाशन भएको छ भने आफ्नो नाम झुण्डिएको छ कि छैन हेर्ने कौतुहलले ।
अरनिको बसले पत्रिकाका मुठा झारेपछि एक झुण्ड पत्रकारले त्यसलाई बोकेर पत्रिका दोकानमै पुर्याई दिन्थ्यौं । अनि हारतीका नारायण साहुले पोको खोल्न थालेपछि आफू रिपोर्टर भएको पत्रिका हतार-हतार नारायण साहुको हातबाट थुतेर आफूले पठाएको सामग्री प्रकाशित भयो कि भएन भनेर हेर्ने हतारो ।
नाम झुण्ड्याएर सामग्री प्रकाशित भएको छ भने त्यो दिन पूरै उत्साहित । २/४ कप बढी चिया पनि घुट्काइदिने । २/४ जनाको अगाडि गुड्डी पनि हाँकिदिने । अझ आफूले भित्री पेजमा प्रकाशन होला भन्ने अपेक्षा गरिरहेको सामग्री प्रथम पेजमै छापिएछ भने त खुशीको सीमाले सगरमाथा नै नाघ्न बेर लाग्दैनथ्यो । सामग्री प्रकाशन भएन वा प्रकाशन भए पनि नाम झुण्डिएको छैन रै’छ भने चाहिं त्यो दिन पूरै निरासमै बित्ने । अनि अर्को सामग्री खोज्ने जाँगर पनि हराउँथ्यो ।
कति आत्मीय यो नाता, अक्षर खेतीबाट उमि्रएको खुराकमा झुण्डिएको नामसँग । त्यो नामले धेरै पटक दुःख पनि दिएको छ । कतिको खप्की खानु पर्यो, कतिले धम्की दिन भ्याए, कतिले सुझाव दिए, कतिले हौसला दिए । प्राप्ति जेसुकै होस् अपेक्षा उही नामको, प्रतीक्षा उही नामको ।
पहिलो पटक २०५२ साल माघ महिनामै हुनुपर्छ चरिकोट बजार सम्बन्धी समाचार छापियो आजको समाचारपत्र दैनिक (अहिले नेपाल समाचारपत्र दैनिक) मा । ओहो ! त्यो दिन खुट्टाले पनि भुईं छोएन कि जस्तो भा’को । कति जनासँग कुरा गरियो होला, कतिलाई समाचार देखाइयो होला । सबैले प्रशंसा गरे, उत्साह भरे । अनि थप समाचार लेख्ने हौसला मिल्यो ।
२०५८ सालमा भने नाम झुण्डिएको समाचारले झण्डै समस्यामा पारेन । माओवादी द्वन्द्वको बेला थियो त्यो । नेपालमै पहिलो पटक माओवादीले दोलखाको खरीढुङ्गा तल हलहलेमा पब्लिक बसमा एम्बुस विस्फोट गरायो । एकजना बोचको गुरु हुनुहुन्थ्यो सोही बसमा यात्रा गर्नुभएको । उक्त एम्बुस दुर्घटनामा परेर उहाँको अवस्था अत्यन्तै नाजुक भएको थियो । हामी स्थलगत गयौं, क्षतिग्रस्त बस, मृतक तथा घाइतेको तस्बिर खिच्यांै र चरिकोट फर्किएर समाचार लेख्न थाल्यौं ।
समाचार लेख्दै गर्दा कसैले ती बोचका गुरुको पनि मृत्यु भएको खबर सुनाए । हामी सायद अलिक आलाकाँचै रहेछौं त्यो बेला, मृत्यु जस्तो कुरालाई कतै दोहोरो-तेहेरो रुजु नगरी सम्प्रेषण गरिदियौं । भोलिपल्ट हामीलाई व्यग्र्र प्रतीक्षा थियो पहिलो पेजमा नामसहित झुण्डिएर समाचार प्रकाशित हुन्छ कि हुन्न भन्ने कुराको । भयो पनि त्यसै, हाम्रो अपेक्षा अनुसार पहिलो पृष्ठमा नाम झुण्डिएको समाचार प्रकाशित भएको थियो । तर त्यसले प्रशंसा हैन गाली खुवाउने काम गर्यो । किनभने समाचारमा मृत्यु नै नभएको बोचका गुरुलाई मृत्यु भएको भनेर लेखिएको थियो ।
काठमाडौंमा उपचार गराइरहेका ती गुरुले अस्पतालको बेडमै आफ्नो मृत्यु भएको खबर पढ्नु पर्दा कस्तो भयो होला हालत । अनि मलाई नाम झुण्डिएको त्यो समाचारले गाली नखुवाएर ताली कसरी खुवाउन सक्थ्यो र ! उनी ठिक भएर घर फर्किएको निकै समयसम्म पनि मलाई उनीसँग धक फुकाएर गफ गर्न असहज भइरहृयो ।
यस्तै अर्को घटना पनि छ । माओवादी द्वन्द्व उत्कर्षमा थियो, मैले एउटा समाचार लेखें एक जना माओवादी कार्यकर्ताको गलत चरित्रको बारेमा । त्यो समाचार नाम झुण्डिएर प्रकाशित भएपछि एकजना कमाण्डरले मलाई फोन गरेर हात काटिदिने धम्की दिए । त्यो धम्कीले मनमा थोरै त्रास भए पनि समाचारको सत्यतामा विश्वस्त भएकोले हिम्मत भने हारिनँ । मलाई त्यतिबेला धम्की दिने ती कमाण्डरसँग अहिले मेरो राम्रो सम्बन्ध छ । उनी माओवादी केन्द्रको जिल्लाको ठूलै नेता बनेका छन् ।
राम्रा त छँदैछन्, अक्षर खेतीमा नामले धेरै दुर्घटना निम्त्यायो । तर नाम झुण्डिएर सामग्री प्रकाशन होस् भन्ने अपेक्षा र गाली तथा तालीको रोमाञ्चक लुकामारीमा उत्साहित अक्षर खेतालाको जाँगर भने कहिल्यै मरेन । फेरि भोलि नाम झुण्डिएको सामग्रीको प्रतीक्षा ! कति न्यानो लाग्ने खेती, अक्षरको खेती ।
००० ०००
अहिले समयमात्र फेरिएको छ । पत्रपत्रिका समयमै हेर्न र पढ्न पाइन्छ । अक्षर खेतीको लागि अनलाइनहरू थपिएका छन् । त्यो उत्साह, कौतुहल, अपेक्षा, आग्रह, खुसी, लगाव उस्तै छ । ३० वर्ष अघिको जस्तै ।
अहिले पनि अक्षर खेतीबाट संग्रहित सामग्रीमा आफ्नो नाम झुण्डिएको हेर्ने चाह अहँ पटक्कै मेटिएको छैन । अक्षरलाई जोडजाम गर्दै शब्द बनाएर एक र अनेक वाक्य, हरफ तथा खण्डहरू सम्याएर कतै सम्प्रेषण गरेपछि अहिले पनि निंद हराम हुन्छ भोलिपल्टको सुखद बिहानीसँग नाम झुण्डिएको आफ्नो सामग्री पढ्ने, पढाउने र सुझावको अपेक्षा गर्ने कुराले ।
अब त फेरिएको समयमा आफ्नो नाम झुण्डिएको सामग्री छ भने त्यसलाई फेसबुक र ट्वीटरमा सेयर गरेर लाइक, कमेन्ट तथा भिओर्सको संख्या गन्दा पनि साह्रै आनन्द लाग्छ ।
किन यस्तो हुन्छ होला, सबैलाई यस्तो हुन्छ होला ? नत्र दैनिक जसो नाम झुण्डिएको सामग्री प्रकाशित त भएकै छन् । अनि एक दिन सामग्री प्रकाशित हुन सकेन भने पनि चिन्ता लाग्ने, नाम झुण्डिएर आएन भने पनि चिन्ता लाग्ने, किन होला ? किनभने यो एउटा अनौठो नशा हो । अक्षर खेती गर्ने नशा, आफ्नो नाम झुण्डिएको सामग्री पढ्ने नशा । यो नशा हरेक लेखकका नसा-नसामा बगिरहेका छन् उत्साह, अपेक्षा, आकांक्षा र हौसला बनेर ।
म मात्र हैन, अक्षरका प्रत्येक खेतालाहरू झुण्डिएको नाम हेर्ने र पढ्ने चाहमा रोमाञ्चक अनुभूतिका आत्मिक बिहानीको प्रतीक्षामा हुने गर्छन् होला । त्यसो हुँदैन भने कोही एक जनाले भनिदिनुहोस्, अक्षर खेतीले उमारेको शाब्दिक अर्थसहितका सामग्रीमा नामको सूत्र मेटाइदिउँ । अब लेखन सिद्धान्तमा बाईलाइनलाई हटाइदिउँ । छ कसैको हिम्मत ? सिद्धान्त मेट्ने र लेख्ने ।
अहँ मचाहिं सक्दिनँ । किनभने मलाई प्रत्येक दिन आफ्नो नाम झुण्डिएको सामग्री पढ्ने उत्सुकता हुन्छ । अघिल्लो दिन मैले बडो मिहिनेतका साथ जोडजाम गरेको अक्षरहरूलाई शब्द र वाक्य बनाउँदै जतनसाथ कतै सम्प्रेषण गरेको हुन्छु । होला त्यो शब्द र वाक्यले कैले खुशी देला, कैलै निराशा । तर म सत्यलाई सम्प्रेषण गरिरहेको हुन्छु ।
अँ मलाई लागेको कुरा, कोही पारिश्रमिकमा हैन पैसामा शब्द साट्छन् भनेचाहिं नाम झुण्डिएको या नझुण्डिएको कुरालाई महत्व दिंदैनन् कि ! समय फेरिएको यो युगमा सम्भावना पनि त फेरिएको छ नि !