धनुषामा इन्स्पेक्टर यादवले महिला प्रहरीसँग यौन दुर्व्यवहार गरेको आरोप

  फागुन १, २०७८

ABC (क्राईमबिट)
जनकपुरधाम । धनुषामा प्रहरीले आफ्नै महिला सहकर्मीसँग दुर्व्यवहार गरेको घटना बाहिरिएको छ ।

जिल्लाको महेन्द्रअंगरस्थित इलाका प्रहरी कार्यालयमा कार्यकर्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) बेचन यादवले महिला प्रहरीसँग यौन दुर्व्यवहार गरेको पाइएको हो ।

जानकी मेडिकल कलेजमा सुरक्षार्थ खटिएका महिला प्रहरीलाई इन्स्पेक्टर यादवले दुर्व्यवहार गरेको भन्दै उनीमाथि छानबिन सुरु भएको छ ।

सार्वजनिक स्थलमै इन्सपेक्टर यादवले यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिला प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेकी थिइन् ।

जानकी मेडिकलमा सञ्चालन भइरहेको परीक्षाको सुरक्षार्थ खटिएका महिला प्रहरीलाई भीडभाडमै बर्दी तानेर भित्री लुगामा हात लगाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।

ड्युटीको क्रममा इन्सपेक्टर यादवले पटक-पटक गलत नियतले शरीरका अंगहरूमा हात लगाउने तथा अपमानजनक व्यवहार गर्ने गरेका र परीक्षा केन्द्रमा खटिएको बेला बर्दी तानेर भित्री वस्त्रमा हात लगाएको पीडित महिला प्रहरीले उजुरीमा उल्लेख गरेकी छन् ।

यता, इन्स्पेक्टर यादवले भने ड्युटीको समयमा ननिदाउन र राम्रोसँग लुगा लगाउन मात्रै आफूले आग्रह गरेको प्रतिक्रिया दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक यादव विरुद्ध महिला प्रहरीले दिएको उजुरीको छानबिन भइरहेको प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । उनले घटनाको छानबिन पश्चात मात्र सत्य तथ्य भन्न सकिने बताए । ई-कान्तिपुरबाट ।

तपाईंको प्रतिक्रिया

थप खबर