नि:शुल्क सामानको शुल्क लिएको भन्दै बीपी प्रतिष्ठानमाथि काउन्सिलद्वारा छानबिन

  फागुन १, २०७८

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा आएको मेडिकल उपकरण बिरामीलाई नि:शुल्क उपलब्ध गराउनु पर्नेमा चिकित्सकले नै शूल्क लिएको भन्दै नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ ।

काउन्सिलबाट डा हरिहर वस्तीको संयोजकत्वमा आएको तीन सदस्यीय टोली शनिबार दिनभर लगाएर छानबिनपछि फर्किएको छ । काउन्सिलको उक्त टोली शुक्रबार धरान आएका थिए ।

विदेशी दातृ संस्था (अमेरिका) बाट पठाइएको साइन कम्पनीको स्टिल रड बिरामी उपचारमा प्रयोग गर्दा प्रतिष्ठानको हाडजोर्नी विभागका चिकित्सकहरूबीच अपरेशन थिएटरभित्रै विवाद मात्र नभएर काउन्सिल र प्रहरी प्रशासनमै उजुरी परेको थियो । सोही उजुरीका आधारमा काउन्सिलले छानबिन र सोधपुछपछि एक साताभित्र प्रतिवेदन तयार गरी काउन्सिलमा बुझाउने संयोजक डा हरिहर बस्तीले बताए ।

प्रतिष्ठानको हाडजोर्नी विभागमा गत पुस २९ गते यही विषयमा चिकित्सकहरूबीच विवाद भएको थियो । विवादको विषय भने विदेशी दातृ निकायले निशुल्क उपलब्ध गराएको स्टिलको रड बिरामीलाई ‘किन रकम अशुल गरेर प्रयोग गरियो’ भन्नेमा केन्द्रित थियो ।हाडजोर्नी विभागका एसोसिएट चिकित्सक डा रोशनप्रसाद साह कलवारले उक्त सामान प्रतिष्ठानको हाडजोर्नी विभागमा र प्रतिष्ठानकै स्टोरमा दाखिला नगरी व्यक्तिगत रुपमा राखेर बिरामीबाट शूल्क असुलेको रहस्य सार्वजनिक भएसँगै विवाद उत्कर्षमा पुगेको थियो ।

हाडजोर्नी विभागका डा कलवारले गत पुस २९ गते कल्याणपुर नगरपालिका–११ बस्ने ललितकुमार साहको खुट्टाको शल्यक्रिया गर्दा अपरेशन थिएटरभित्रै चिकित्सहरूबीच विवाद र मतभेद भएपछि मेडिकल काउन्सिलसम्म उजुरी पुगेको थियो ।

यसअघि अपरेशन थिएटरमा एनेस्थेसिया गरेर बेहोस भएका बिरामी ललितकुमारको खुट्टामा स्टिलको रड लगाउनु पर्ने थियो । तर डा कलवारले चिकित्साशास्त्रको आचार संहितालाई समेत चुनौती दिँदै सफाइ र निर्मलीकरण नगरी हातैमा बोकेर ल्याई ललितकुमारको खुट्टा लगाएका थिए । तर अरु सहकर्मी चिकित्सकहरूले विभाग र प्रतिष्ठानको स्टोरमा दाखिला नभएको साइन कम्पनीको स्टिल रड बिरामीमा प्रयोग गर्न सहयोग नगरेपछि अपरेशन थिएटरमा एक्लैले रड लगाइदिए ।

उक्त रड सही ठाउँमा नबसेपछि डा अमित लिम्बु, डा अमितविक्रम साह र ओटी इन्चार्ज नर्सहरूले पहिले लगाएको रड निकालेर विभाग र प्रतिष्ठानको स्टोरमा दाखिला भएको निर्मलीकरण गरेर राखेको ग्रिन्स कम्पनीको स्टिल रड लगाइदिएका थिए । यसरी अपरेशन थिएटरमा तीन घण्टामा सकिने काम ८ घण्टा लागेको थियो ।

उक्त विषयलाई लिएर डा कलवारले विभागले आफूलाई असहयोग गरेको र अपरेशन थिएटरमा बिरामीको जोखिम बढाएको भन्दै मेडिकल काउन्सिलमा उजुरी दिएका थिए भने उनकै विरुद्ध विरामीहरूले पनि निशुल्क आएको रडको शूल्क लिएको भन्दै काउन्सिलमै कारबाहीका लागि उजुरी दिएका थिए ।

विवाद तन्किँदै जाँदा तत्कालका लागि प्रतिष्ठानका पूर्वशिक्षाध्यक्ष समेत रहेका हाडजोर्नी विभागका प्रमुख प्राडा विक्रमप्रसाद श्रेष्ठले डा कलवारको विषयमा पटकपटक स्टिल रडकै बारेमा बिरामीसँग विवाद भएको र कलवारले लिएको रकम फिर्ता गरिदिएको घटनाबाट आजित भएको भन्दै कारबाही स्वरुप एक महिनासम्म अपरेशन थिएटरमा प्रवेश गर्न नपाउने र त्यस अवधिमा पठन पाठनमात्र गर्न पत्र लेखेका थिए ।

तर कलवारले विभागलाई नै चुनौती दिएर दातृ निकायले निशुल्क रुपमा दिएको स्टिल रड अन्य बिरामीमा पनि व्यक्तिगत रुपमा शूल्क लिएपछि इलाका प्रहरी कार्यालय धरानमा पनि उजुरी परेको थियो ।

अमेरिकास्थित साइन नामक संस्थाले विपन्न मुलुकका बिरामीलाई खुट्टाको लामो हड्डी जोड्ने स्टिलको रड (नेल) निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । तर डा कलवारले भने हाडजोर्नी सम्बन्धी अपरेशन प्रयोग हुने उक्त सामान बिरामीलाई आफ्नो पसलबाट किन्न बाध्य पार्ने गरेको पीडित बिरामीहरूको गुनासो आएपछि झन् विवाद झांगिएको थियो । उनले त्यसबेला दातृ निकायले निशुल्क उपलब्ध गराए पनि काठमाडौंदेखि धरानसम्म ढुवानी गर्दा आफ्नो खर्च भएको जिकिर गरेका थिए ।

साथै उनले एक जना बिरामी बराबर निशुल्क स्टिलको १७ हजार रुपैयाँसम्म लिने गरेको विरामीहरूको गुनासो छ । केहीको गुनासो आएपछि प्रतिष्ठानको हाडजोर्नी विभागको रोहवरमा रकम फिर्तासमेत गरिएको थियो ।

बिरामीका लागि निशुल्क उपलब्ध स्टिल रडको विषयमा विवाद चर्किएपछि छानबिनका लागि आएको मेडिकल काउन्सिलको टोलीले विभागीय प्रमुख डा विक्रम श्रेष्ठ, डा अमित लिम्बु, डा अमित विक्रम साह, डा कलवार र ओटी इन्चार्ज नर्सलगायत गरी १० जनासँग सोधपुछ गरेको छ । काउन्सिलबाट आएका डा वस्तीले भने, ‘काउन्सिलले दिएको जिम्मेवारी अनुसार हामीले सबै पक्षसँग आवश्यक सोधपुछ गरेका छौं । एक साताभित्र एउटा प्रतिवेदन तयार गरेर काउन्सिलमा बुझाउने छौं । बाँकी कारबाही गर्ने नगर्ने काम काउन्सिलले गर्छ ।’

तपाईंको प्रतिक्रिया

थप खबर