योगदान र लोकप्रियताका आधारमा टिकट – काँग्रेस नेताहरु

  फागुन १५, २०७८

तुलसीपुर, फागुन १५ । नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं.३ (क) ले आइतबार तुलसीपुरमा ‘आसन्न निर्वाचनमा हाम्रो भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रमका बक्ताहरुले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीले योगदान र लोकप्रियताका आधारमा टिकट दिए काँग्रेसलाई कसैले हराउन नसक्ने तर्क गरे ।

गाउँ तथा वडा तहमा इमान्दारिताका साथ संगठन निर्माणमा खटिएको, दुःख गरेको लोकप्रिंय र निर्वाचन जित्न सक्ने ब्यक्तिलाई टिकट दिनुपर्ने बक्ताहरुको जोड थियो ।

तेरो मेरो वा गुट उपगुट नहेरी गाउँमा बसेर संधै इमान्दारिपूर्वक काँग्रेस जन्माउने, काँग्रेस सपार्न अभियानमा लागेका ब्यक्तिहरुलाई वडा सदस्यदेखि वडाध्यक्ष, मेयर वा उपमेयरको उम्मेदवार बनाउन उनीहरुले नेतृत्वलाई सुझाए ।

नेतृ लोकेश्वरी अधिकारीले भनिन् –‘हाम्रो काँग्रेसले नहारोस भन्नेमा हामी टिकट बितरणमै सजग हुन जरुरी छ । तेरो मेरो गुटको नभनी जित्ने राम्रो संभावना भएको उम्मेदवार छान्न आवश्यक छ ।’ वडा नं. ३ का क्षेत्रीय प्रतिनिधि बिष्णु मल्लले गुटकै कारण काँग्रेसले बिगतमा हार्ने गरेको भन्दै सबैले टिकट नपाउने हुँदा जस्ले टिकट पाउँछ त्यसलाई जिताउन सबै काँग्रेस हुँ भन्नेहरु इमान्दारिताका साथ लाग्नु पर्ने बताए ।

‘ कस्को मान्छे होइन, तेरो मेरो नभनी इमान्दारी पूर्वक टिकट दिए यो पटक काँग्रेसले सबै ठाउँ जित्छ,’ मल्लले भने ‘ टिकट गाउँ घरमा काँग्रेस सपार्नेलाई दिनुपर्छ न कि नेताको वरिपरी घुम्नेलाई ।’

नेता एकराज आचार्यले टिकट बितरणको सवालमा एउटा मापदण्ड निर्माण गर्न आवश्यक रहेको बताए । ‘ मुख हेरिनु हुन्न, गुट हेरिनु हुन्न,’ उनले अगाडि भने ‘ रुख हेरिनु पर्छ गाउँ घरमा काँग्रेसका संगठक र लोकप्रिंय ब्यक्तिलाई टिकट दिनुपर्छ ।’

नेता ताराबहादुर कार्कीले पार्टी भित्रै पक्ष बिपक्ष नभनी मापदण्ड तय गरि बिधि सम्मत रुपमा टिकट बितरण गर्नुपर्ने बताए ।

कार्यक्रममा तुलसीपुर ९ का वडाध्यक्ष घनश्याम ढकाल, तुलसीपुर ६ का प्रताप रेग्मी, तुलसीपुर १५ वडा इकाई सभापति शरदकुमार धिताल, तुलसीपुर ८ का भूपबहादुर केसी, तुलसीपुर ४ का उपभापति तेजप्रशाद खनाल, नेता इश्वरी सुनार, लता रावत लगाएतले नेताले स्वच्छाचारी ढंगले पकेटबाट टिकेट दिने भन्दा लोकप्रियता र योगदानलाई कदर गर्नुपर्ने बताएका थिए ।

कार्यक्रमलाई यसअघिका जिल्ला सभापति कीर्तिबहादुर खड्का, लुम्बिनी प्रदेश सभा सदस्य शंकर गिरी, तुलसीपुर नगर सभापति सुरेश हमाल, नेता सुरेन्द्र खड्का लगाएतका दर्जनौं नेताहरुले सम्बोधन गरेका थिए ।

क्षेत्र नं. ३ (क) का सभापति देबेन्द्र रिजालको सभापतित्व र केन्द्रीय सदस्य दीपक गिरीको प्रमुख आथित्यता तथा केन्द्रीय सदस्य गेहेन्द्र गिरीको बिशिष्ट आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमको सहजीकरण सचिव किरण केसी र समन्वयको भूमिका सहसचिब रञ्जन कोइरालाले गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर