घोराही उपमहानगरले वडा नम्बर १७, गुलरियामा क्रिकेट मैदान बनाउने योजना

  फागुन १४, २०७८

दाङको घोराही उपमहानगरपालिका-१६ मा पर्ने करौंती डाँडाको उत्तरतर्फ अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्ने भएको छ।

यो रंगशाला लुम्बिनी प्रदेश सरकारको योजना र घोराही उपमहानगरको समन्वयमा बन्न लागेको हो। आठ बिघा क्षेत्रफलमा बन्ने रंगशालाको नाम ‘नेत्रलाल स्मृति’ रहनेछ।

रंगशाला बनाउन करिब साढे छ बिघा सार्वजनिक जग्गा प्रदेश सरकारले व्यवस्था गरेको हो भने उपमहानगरले तीन करोड बढी लगानीमा साढे एक बिघा जग्गा थपेको छ। आवश्यकता अनुसार थप सार्वजनिक जग्गा प्रयोग हुने उपमहानगरले जनाएको छ।

उपमहानगरको गुरुयोजना अनुसार रंगशालाभित्र फुटबल मैदान, स्विमिङ पुल, इन्डोर गेमका लागि हल र अन्य अत्यावश्यक संरचना हुनेछन्। लुम्बिनी प्रदेश विकास प्राधिकरणले रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ।

प्रदेश सरकारले तत्कालका लागि तारबार गर्न र पर्खाल लगाउन एक करोड रूपैयाँ छुट्याएर टेन्डर गरिसकेको छ। थप कामका लागि संघीय सरकारसँग बजेट माग गर्ने भएको छ। उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीका अनुसार सम्बन्धित मन्त्रालयबाट स्वीकृति प्राप्त हुनासाथ रंगशाला निर्माणका लागि टेन्डर आह्वान हुनेछ।

यसै गरी घोराही उपमहानगरले वडा नम्बर १७, गुलरियामा क्रिकेट मैदान बनाउने योजना अघि सारेको छ।

एक सय दस मिटर लम्बाइ र ८० मिटर चौडाइको खेल मैदानको वरिपरि तारजाली लगाइएको छ। उपमहानगरले गुलरियाको सार्वजनिक जग्गामा एक करोड सात लाख रूपैयाँ लगानीमा सात कठ्ठा जमिन थपेर क्रिकेट मैदान बनाउन लागेको प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए ।

उपमहानगरले उक्त मैदानको संरक्षण तथा विकासका लागि चालु आर्थिक वर्षमा दस लाख रूपैयाँ छुट्याएको थियो। यसअघि पनि उक्त मैदानका लागि बजेट छुट्याइएको थियो।

प्रदेश विकास प्राधिकरणले क्रिकेट रंगशालाको पनि डिपिआर तयार पारेको छ। अब निर्माणका लागि पहल भइरहेको केसीले बताए। दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले स्थानीय सरकार बनेपछि खेलाडीको माग सम्बोधन गर्ने तथा उनीहरूलाई हौसला दिने काम भएको बताए।

‘हामीले २०७२ सालदेखि नै गुलरियामा क्रिकेट खेलको अभ्यास गर्दै आएका थियौं,’ उनले भने, ‘थोरै जग्गा किन्नुपर्ने अवस्था थियो। हामीले आग्रह गरेपछि उपमहानगरपालिकाले हाम्रो आवाजको सम्मान गर्‍यो।’

घोराहीमा कतै क्रिकेट मैदान नरहेको अवस्थामा स्थानीय सरकारले जग्गा किनेर मैदान बनाउन प्रयास गर्नु निकै सकारात्मक रहेको मजगैयाले बताए। कामको गति भने सुस्त रहेको उनको भनाइ छ।

‘सरकारको काम डिपिआर बनाउने मात्रै होइन, निर्माण पनि गर्ने हो,’ उनले भने, ‘कामको गति सुस्त छ। जति छिटो राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण हुन्छ, त्यहीअनुसार क्रिकेटको विकास पनि अघि बढ्छ।’

चुनावका बेला गरेको वाचाअनुसार काम नभएको उनको भनाइ छ।

उपमहानगरका सामाजिक विकास अधिकृत अजय बोहराका अनुसार चालु आर्थिक वर्षमा मेयर कप फुटबल प्रतियोगिताको लागि सात लाख र उपमेयर कप भलिबल प्रतियोगिताका लागि पाँच लाख रूपैयाँ विनियोजन भएको छ। ती प्रतियोगिताहरू गत माघ १५ सम्ममा सक्नुपर्ने भए पनि कोरोनाका कारणले रोकिएको छ। अब चाँडै प्रतियोगिता चलाउनेबारे छलफल सुरू भएको उनले बताए। गत आर्थिक वर्षमा पनि उक्त प्रतियोगिताका लागि बजेट छुट्याइएको थियो।

उपमहानगरले हरेक वर्ष खेलमा रकम बढाउँदै लगेकाले खेलकुदको विकासमा विशेष चासो दिएको भन्न मिल्ने बोहराको तर्क उनको छ। घोराहीमा लगातार चारपटक मेयर कप प्रतियोगिता भएको छ। उपमेयर कप प्रतियोगिता दोस्रो पटक भएको छ। वडा अध्यक्ष कप पनि हुने गरेको छ।

यस्ता प्रतियोगिताबाट स्थानीय प्रतिभा पहिचान गर्न र खेल क्षेत्रको विकास गर्न टेवा पुगेको बोहराको भनाइ छ।

घोराही उपमहानगरले ‘एक वडा एक खेल मैदान’ को नीति लिएको छ। यसअनुसार खेल मैदान निर्माण हुने क्रम अघि बढेको घोराहीका खेल संयोजक तथा वडा नम्बर १८ का वडाध्यक्ष भरत अर्यालले बताए। उनका अनुसार घोराहीका १९ वटै वडामा खेल मैदान तयार भएका छन्।

अर्यालले पहाडी क्षेत्रका वडाहरूमा भलिबल मैदान र तराई क्षेत्रका धेरै वडाहरूमा फूटबल मैदान बनेका छन्। केही वडामा क्रिकेट मैदान बनेका छन्।

सबै वडाहरूले हरेक वर्ष वडास्तरीय प्रतियोगिता आयोजना गरेर स्कुले बालबालिकालाई खेलप्रति आकर्षित गर्ने गरेको अर्यालले बताए। हरेक वडाले खेल प्रतियोगिताका लागि बजेट छुट्याउने गरेका छन्।

घोराही उपमहानगरका मेयर नरुलाल चौधरीले घोराही बजार क्षेत्रमा कतै पनि खाली ठाउँ नभएकाले बजार आसपासको क्षेत्रमा जग्गा खरिद गरेर खेल मैदान बनाउने नीति लिएको बताए।

वडा नम्बर १७ को बडहरामा क्रिकेट रंगशाला विस्तार गर्न स्रेस्ताको जग्गा अपुग भएपछि खेलाडीको मागअनुसार जग्गा खरिद गरेको उनले बताए।

चौधरीले भने, ‘हामीले त्यहाँ खेल मैदान निर्माण गरिसकेका छौं र परिकल्पनाअनुसार रंगशाला बनाउन प्रक्रिया थालेका छौं।’

वडा नम्बर १६ मा लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पोखरेललाई आग्रह गरेर राष्ट्रिय तथा सार्कस्तरीय प्रतियोगिता गराउन मिल्ने गरी नेत्रलाल स्मृति रंगशाला निर्माण गर्न डेढ बिघा जग्गा खरिद गरेको चौधरीले बताए। उनका अनुसार अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने तत्कालीन मुख्यमन्त्री पोखरेलको अवधारणा अनुसार उपमहानगरले जग्गा उपलब्ध गराउने वाचा गरेको थियो।

सोही वाचा पूरा गर्न विज्ञको सल्लाहमा जग्गा खरिद गरेको उनले बताए। प्रदेश सरकारले अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने उद्देश्य रहे पनि प्रदेश सरकार परिवर्तन भएपछि काम केही ढिलो भएको चौधरीको भनाइ छ।

प्रदेश सरकारले विनियोजन गरेको एक करोड रूपैयाँ बजेटबाट डिपिआर तयार गर्ने लगायतका काम भइसकेको र अर्को एक करोडको टेन्डरसमेत भइसकेको उनले जानकारी दिए। यो ठेक्कामा जग्गा सम्याउने र तारबार गर्ने काम हुनेछ।

उपमहानगरको बजेट र स्थानीय खेलाडीले समेत संकलन गरेको झन्डै ९५ लाख रूपैयाँको लागतमा नारायणपुरमा निर्मित ब्याडमिन्टन कबर्ड हलको निर्माण पूरा भएको छ। मेयर चौधरीले उद्घाटन पनि गरेका छन्।

नारायणपुर र घोराही बजारमा ब्याडमिन्टनका दुई वटा कबर्ड हल तयार भएका छन्। मेयर चौधरीले भने ‘हामीले हरेक वडामा खेलकुदको विकासका लागि खेल मैदान निर्माण गरेका छौं।’

उपमहानगरले खेलाडीलाई प्रोत्साहित गर्न समय समयमा खेल प्रतियोगिता आयोजना गर्ने गरेको छ।

‘हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन चाहने तर आर्थिक अभावले समस्या परेका खेलाडीलाई सहयोग गर्ने गरेका छौं,’ चौधरीले भने, ‘प्रतियोगितामा सफलता हासिल गर्ने खेलाडीको सम्मान पनि गर्ने गरेका छौं।’

उपमहानगरले वार्षिक रूपमा मेयर कप र अन्तरविद्यालय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। युवा वर्गलाई खेलमा आकर्षित गर्ने उपमहानगरको नीति रहेको चौधरीको भनाइ छ।

उनी भन्छन्, ‘खेलले सबै जात, वर्ग, भूगोल र समुदायलाई जोड्छ र पर्यटन विकासमा पनि मद्दत गर्छ भन्ने हाम्रो बुझाइ छ।’

मेयर चौधरीका अनुसार उनले घोराहीलाई खेलकुद हबका रूपमा विकास गर्न चाहेका छन्।

करौंती डाँडामा क्रिकेट रंगशाला बन्ने खबर सुनेर नजिकै घर भएकी १० वर्षीया प्रतिभा केसी निकै खुसी छिन्।

‘यो डाँडामा ठूलो रंगशाला बन्छ रे,’ उनले भनिन्, ‘स्वीमिङ पुल पनि बनाउने रे, मलाई धेरै खुसी लागेको छ।’

एक दिन अपराह्न चार बजेतिर १८ वर्षीय युवराज सुवेदी क्रिकेट खेल्न ब्याट, प्याड, बल लगायतका सामग्री बोकेर गुलरियास्थित क्रिकेट मैदानमा प्रवेश गर्दै थिए। सिभिल इन्जिनियरिङका विद्यार्थी युवराजको घर रोल्पाको सुलिचौर हो।

उनी खेलले शारीरिक स्फूर्ति मिल्ने, अनुशासित बनाउने र कुलतबाट जोगाउने बताउँछन्।

युवराज भन्छन्, ‘खेलकुदमा रमाउने युवा लागु पदार्थको दुव्र्यसनमा फस्ने सम्भावना निकै कम हुन्छ।’

स्थानीय सरकार बनेपछि घोराही नगरपालिकाका प्रत्येक वडामा समेत खेल मैदान बनेको र प्रतियोगिताहरू आयोजना हुने गरेकोमा उनले खुसी प्रकट गरे।

 

 

तपाईंको प्रतिक्रिया

थप खबर