काठमाडौं महानगरको मेयरमा कांग्रेसबाट यी हुन् आकांक्षी

  फागुन ०६, २०७८

काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै चुनावको सरगर्मी बढेको छ । स्थानीय तहमा जनप्रतिनिधि बन्ने आकांक्षीहरुले धमाधम उम्मेदवारी घोषणासमेत गर्न थालेका छन् ।

सरकारले २०७९ वैशाख ३० गते ७५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचनको मिति घोषणा गरिसकेको छ । देशको संघीय राजधानी काठमाडौं महानगरपालिकाको प्रमुखका लागि विभिन्न राजनीतिक दलभित्र दौडधुप सुरु भएको छ ।

महानगरको प्रमुखमा स्वतन्त्र व्यक्तिदेखि दलका नेताहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन्। महानगरको मेयरमा पार्टीबाट टिकट पाउने वातावरण बनाउन आकांक्षीहरु नेताहरूको घरदैलोदेखि स्थानीय तहमा कार्यकर्तासँग भेटघाट र अन्तक्र्रिया बढाउन थालेका छन् ।

संघीय सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा काठमाडौं महानगरको मेयरका लागि आधा दर्जन आकांक्षी देखिएका छन् । सबैले आफूलाई बलियो उम्मेदवारका रुपमा प्रचार गरिरहेका छन् ।

कांग्रेसभित्र कायम गुटगत प्रतिनिधित्व गर्दै आफूलाई उम्मेदवारका रुपमा उभ्याउने प्रवृत्ति पनि देखिएको छ । कांग्रेसबाट महानगरको मेयरका लागि उपमेयर हरिप्रभा खड्कीको दावी बलियो देखिन्छ ।

कांग्रेसले मेयर गुमाउँदा पनि उनले लोकप्रीय मतका साथ उपमेयर जितेकी हुन् । यसपटक उनी मेयरमा आफ्नो उम्मेदवारीलाई स्वभाविक भएको दावी गर्छिन् । उपमेयरको जिम्मेवारी सम्हालेको अनुभवले पनि मेयरमा दाबी गर्नु स्वभाविक भएको उनको भनाई छ।

मेयर पदमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका थिए । उपमेयर खड्गीले मेयर शाक्यका क्रियाकलापमा सशक्त प्रतिपक्षको भूमिकामा उभिएकी थिइन् । रचनात्मक सहयोगदेखि सशक्त विरोधमा उत्रिएर आफ्नो जिम्मेवारी पुरा गरेको खड्गीको भनाइ छ ।

कांग्रेसबाट विजयी वडाध्यक्षलाई छुट्टै भेला गरेर उपमेयर खड्गीले आफ्ना एजेन्डा सुनाएकी थिइन । रानीपोखरीको इतिहास जोगाउन पनि उनले संघर्ष गरेकी थिइन भने काठमाडौँको खुल्लामञ्च खाली गराउन पनि उनी सक्रिय भएर लागेकी छन् ।

जनताले आफूलाई मेयरमा हेर्न चाहेको उपमेयर खड्गीको दाबी छ । यस्तै कांग्रेसका काठमाडौँ महानगर सभापति निलकाजी शाक्य पनि महानगरको नेतृत्व सम्हाल्न इच्छुक देखिएका छन् । पार्टीले जिम्मेवारी दिए आफू पछि नहट्ने उनको भनाइ छ ।

शाक्य भन्छन्, ‘म हाम्रो पार्टीको नगर सभापति भएकाले पनि म मेयरको स्वभाविक दाबेदार हुँ । यसबारे छलफल त हुँदैछ तर यदि मलाई जिम्मेवारी आयो भने म इच्छुक छु ।’निलकाजी काठमाडौँ महानगर वडा–२५ का अध्यक्ष हुन् । उनले कम्युनिस्टहरूको गढमा २०७४ सालमा वडाध्यक्ष चुनाव जितेका थिए ।

निलकाजीले केही समय बिपी कोइराला र गणेशमान सिंहनिकट रहेर पनि काम गरेका थिए । उनले तरुण दल काठमाडौंका संस्थापक सभापति रहेर पनि काम गरेका थिए । तरुण दल काठमाडौंमा उनले दुई कार्यकाल काम गरेका थिए ।

यस्तै पूर्वमन्त्री एवं कांग्रेसका स्व.नेता नविन्द्रराज जोशीकी धर्मपत्नी सपना जोशीले पनि महानगरको मेयरमा आकांक्षा देखाएको नेताहरुले बताएका छन् । यसअघि उनका श्रीमान जोशीले महानगरको उपप्रमुख भएर काम गरेका थिए ।

कांग्रेसको राजनीतिमा पारिवारिक योगदान रहेकाले उनको दावीलाई स्वभाविक रुपमा लिइएको कांग्रेस काठमाडौंका नेताहरु बताउँछन् । सपना कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं–८ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् ।

काठमाडौंको मेयरमा काठमाडौं क्षेत्र नं.७ का सभापति मुकुन्द रिजालको नाम पनि चर्चामा छ । उनी काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष पनि हुन् । काठमाडौं महानगरपालिका ११ का वडाध्यक्ष हिरालाल तण्डुकार पनि महानगरको मेयरका आकांक्षी रहेको बताइएको छ ।

त्यस्तै कांग्रेसका पुराना नेता तीर्थराम डंगोलले पनि महानगरको नेतृत्व गर्न चाहेको बताएइको छ । काठमाडौंको नेवार समुदायकाबीचमा परिचित डंगोल उमेर र अनुभव दुबैमा पाका नेता हुन् ।

कांग्रेस काठमाडौं महानगर सभापति निलकाजी शाक्यले सबै आकांक्षीसँग छलफल गरेर सहमतिमा उम्मेदवार तय गरिने बताए । उनले महानगरको नेतृत्व कांग्रेसले जित्ने दावी गर्दै लोकप्रीय र अनुभवी नेतृत्व कांग्रेसले दिने बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर