मानव तस्करी मुद्दा : उच्च अदालत पाटनले सुनायो दाङका टाेपबहादुर जिसिलाई कैदको फैसला

  फागुन ०१, २०७८

जिल्लाको फैसला उल्टाउँदै उच्च अदालतले भन्यो– सांसद विमलाबाट होइन, उत्तर वलीको सम्पत्तिबाट २५ लाख भराउनू

काठमाडौं– श्रीमान उत्तरकुमार वलीको मुत्यु भएका कारण मानव तस्करी मुद्दामा श्रीमती तथा लुम्बिनी प्रदेशकी सांसद विमला कुमार वली (खत्री)बाट २५लाख रुपैयाँ भराउनू भन्ने काठमाडौं जिल्ला अदालतको फैसला उच्च अदालत पाटनले उल्टाएको छ।

उच्च अदालत पाटनका न्यायाधीश बामदेव ज्ञवा र महम्मद जुनैद आजादको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै मृतक उत्तरकुमारकै सम्पत्तिबाट २५ लाख रुपैयाँ भराउनू भन्ने फैसला गरेको हो।

२०७७ पुस १७ गते काठमाडौं जिल्ला अदालतले उत्तरकुमार वलीको मुत्यु भएका कारण श्रीमती विमलाबाट २५ लाख रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध विमला उच्च अदालत पाटन पुगेकी थिइन्।

सम्बन्धित प्रतिवादीको मृत्यु भएको र आफूसँग २५ लाख रुपैयाँ तिर्न सक्ने हैसियत समेत नभएको भन्दै उक्त फैसला बदरको माग गर्दै विमला उच्च पुगेकी थिइन्। उच्चले अहिले भने उत्तरकुमारकै सम्पत्तिबाट २५ लाख रुपैयाँ भराउने फैसला गरेको हो। उच्चले गरेको फैसलामा भनिएको छ, ‘विमलालाई प्रतिवादी कायम नगरिएका कारण उनीबाट २५ लाख रुपैयाँ भराउने विषय सान्दर्भिक नभएकाले उत्तरकुमार वलीकै सम्पत्तिबाट भराई लिन पाउन ठर्हछ।’

मानव बेचबिखन तथा ओसार–पसारको कसूर गरेको देखिएको भएपनि उत्तरको मृत्यु भएका कारण कैदको फैसला हुन सकेको थिएन।
२०७५ माघ २४ गते प्रदेश सभा बैठक सकेर घर फर्किँदा वली दाङको चिसापानीमा दुर्घटनामा परी घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेर अचेत भएका उनको उपचारका क्रममा २०७५ फागुन ९ गते राति काठमाडौंस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो। त्यसबेला उत्तरकुमार प्रदेश सांसद थिए।

उत्तरसँगै अन्य प्रतिवादी टोपबहादुर घर्ती क्षेत्रीलाई २ वर्ष कैद र १२ लाख रुपैयाँ जरिवाना, मुकुन्दराज जिसीलाई १ वर्ष कैदको सजाय जिल्ला अदालतले तोकेको थियो। क्षेत्रीको समेत १ वर्ष कैद उच्च अदालतले घटाएको छ भने जिसीको १ वर्ष कैद भने सदर गरेको छ।

दाङ क्षेत्र नम्बर ३ (ख) मा बाट चुनाव जितेका उत्तरको दुर्घटनाबाट मत्यु भएपछि उपनिर्वाचन हुँदा उनकै श्रीमती विमलालाई तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवार बनाएको थियो। २४ हजार २ सय ८६ मत ल्याउँदै विमला प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यले १९ हजार १८२ मत ल्याएका थिए। उत्तरले पूर्वएमालेबाट उम्मेदवार भई चुनाव जितेका थिए। नेकपा विभाजन भएपछि विमला भने माओवादी केन्द्रतिर लागेकी छिन्।

तपाईंको प्रतिक्रिया

थप खबर