यो प्रेम बिक्ने सहरमा
यो मुर्दाहरूको बजारमा
जहाँ प्रेमीहरू मारिन्छन्
मलाई बागी उभिन मन छ
तिम्रो नाम लिएर
खुलेआम चिच्याउन मन छ
म त प्रेम गर्छु तिमीलाई
तिम्रो पसिनाले उभ्याएको यो सभ्यतालाई
तिम्रो रगत मिसिएको यो धर्तीलाई
तिम्रो सपना टाँगिएको यो आकाशलाई
हो म प्रेम गर्छु
तिम्रो श्रमले फलेको अनाज दाना
तिम्रो प्रतिविम्ब लाहुरे फूल
तिम्रो चीत्कार मिसिएको छाँगाको आवाज
तिम्रो करङमा उभिएका पुलहरू
पुलमुनि बगिरहेका नदीहरूलाई
आदिम रोमको कुनै शासक होस्
घोडसवार जंगबहादुर
शासकको शालिकमा भेटिँदैन प्रेमको सौन्दर्य
न भेटिन्छ तिनको बहीखातामा
स्तन काटिएका नवयौवनाहरूको वियोग
हजारौं अबोधका रजले नुहाउने
कामातुर शासकझैं
त्यही विरासतको लयमा देख्छु
नयाङ्ग धरहराको मुनि उभिएर हेर्दा
मेरो देशको शासकको अनुहार
भर्खरै बाढीले लग्यो तिम्रो झुपडी
बाढीमै बगे परिवार
तिमी भने मैलो बाहुलाले पुछेर शोकको आँसु
थपिरहेछौ तला माथि तला
त्यो राष्ट्रिय इमारतको
कुँदिरहेछौ टुँडालमा
रतिरत शासकको कामकला
उभ्याइरहेछौ भिमसेन थापाको नयाँ धरहरा
खनिरहेछौ रानीपोखरीको नीलो दह
शिर उठाएर जब जब हेर्छु यो धरहरा
यसैले किचिमारेको न्हुछेमानको याद आउँछ
जब देख्छु ताजमहलमा मानिसहरूको भीड
भेरीमा फालिएको नवराज विकको याद आउँछ
न्यायको चिसो बरफमा जमिबसेको अजित मिजारको याद आउँछ
जब टेक्छु रोमको पिरामिड
एक लाख प्रेमीहरूको रुवाइले बिथोलिन्छु
यसरी हजारौं वर्षदेखि तिम्रो चीत्कारले अशान्त पृथ्वीमा
म कसरी गाउँ ॐ मणि पद्मे हुँ ?
म खोजिरहेछु एक एक हिसाब
यी रहस्यमयी टुँडालहरूमा
किन खोपिएनन् तिम्रा नाम कतै ?
पुरातत्व विभागको उत्खननमा
किन भेटिएन तिम्रो अनुहार कतै ?
यतिबेला म औधी प्रेम गर्छु
कहीं नलेखिएको तिम्रो नामलाई
ए अछुत मेरो प्रेमी !
ए बेरंग मेरो प्रेमी !
तिमीलाई प्रेम गर्नुको अर्थ
घृणा गर्छु तिनीहरूलाई
जसले मेटे तिम्रो नाम इतिहासबाट
कुल्चेर तिम्रो आदिम गाउँ
बसाए नयाँ प्लानिङ टाउन
उठाए बहुतले भवन
हाले होर्डिङ बोर्ड बहुराष्ट्रिय कर्पोरेसनको
उभ्याए टुाडालहरूको मन्दिर !
टाँसे सूचना– ‘यो प्रेम निषेधित क्षेत्र हो’
हो उनीहरूलाई घृणा गर्नुको अर्थ
निषेधित क्षेत्रमै उभिएर
चिच्याई–चिच्याई भन्न चाहन्छु
म तिमीलाई औधी प्रेम गर्छु ।