आईसीएफसी बैंक र उद्योगी विनोद चौधरीले जिल्ला अदालत काठमाडौंमा जवाफ पेश गरेका छन् ।

  माघ १४, २०७८

१४ माघ, काठमाडौं । नेपाल बंगलादेश बैंक (एनबी) को शेयर खरिद विवादमा मुख्य लगानीकर्ता बंगलादेशको आईसीएफसी बैंक र उद्योगी विनोद चौधरीले जिल्ला अदालत काठमाडौंमा जवाफ पेश गरेका छन् ।

उद्योगी तथा सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले आईसीएफसीको शेयर खरीद गर्न आफूले सम्झौता गरेको भन्दै चौधरीलाई बिक्री नगर्न माग गर्दै मुुद्दा दायर गरेका थिए । गत पुस २७ गते जिल्ला अदालत काठमडौंले तत्काल आईसीएफसीको शेयर बिक्री नगर्न अन्तरकालीन आदेश दिँदै आईसीएफसी र चौधरीसँग लिखित जवाफ माग गरेको थियो ।

आईसीएफसी र चौधरीले कानून व्यवसायीमार्फत जवाफ पठाएका छन् । र उनीहरुले शेयर खरीद बिक्री रोक्न जारी भएको अन्तरकालीन आदेश खारेजीको माग गरेका जिल्ला अदालतका एक अधिकारीले जानकारी दिए ।

आईसीएफसीले दुगडसँग कुनै लिखित सम्झौता नगरेको भन्दै उनले गरेको दावी झुटो रहेको बताएको छ । नेपाल बंलादेश बैंकले गत असार २९ गते संस्थापक शेयरधनीको जानकारीको लागि पहिलो पटक ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।

तर बैंकले संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना प्रकाशित गर्नुभन्दा तीन–चार महिना अगाडि नै दुगडले २०७७ चैतमा नै आईएफआईसीका अध्यक्षलाई नेपाल बङ्गलादेश बैंकको शेयर खरीद गर्न आफूले अफर लेटर पठाएको दाबी गरेका छन् ।

संस्थापक शेयर बिक्री गर्नका लागि सबैभन्दा पहिले सार्वजनिक सूचना निकाल्नुपर्छ । यसरी निकालिएको सूचनामा पहिलो हकदार बैंकका वर्तमान शेयरधनीहरु हुन्छन् । बैंकका अन्य शेयरधनीहरुले खरीद नगरेको अवस्थामा मात्रै बाहिर बिक्रीका लागि सूचना निकाल्नुपर्ने हुन्छ ।

आईसीएफसीले जवाफमा भनेको छ, ‘नेपालको कुनै पनि बैंक वित्तीय संस्थाको संस्थापक शेयर खरीद बिक्री गर्न नेपालको ऐन कानुन र नेपाल राष्ट्र बैंकको निर्देशन पूरा गर्नुपर्नेमा उक्त कानुनी प्रक्रिया भन्दा बाहिर गएर हुँदै नभएको सम्झौतालाई आधार बनाउन मिल्दैन ।’ अदालतका एक अधिकारीका अनुसार यो मुद्दामा माघ २३ गते दुबै पक्षलाई बोलाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर