६ करोडको पुल टेको निकाल्दैमा भाँचियो !

  माघ १३, २०७८

१२ माघ, पोखरा । ६ करोड रुपैयाँमा बनेको पोखरा महानगर ३२ र ३३ वडा जोड्ने ‘लामगाडी’ पुल सञ्चालनमा नआउँदै भाँच्चिएको छ । निर्माण कार्य सकिएर परीक्षणका लागि पुलको ‘टेको’ निकालेको केही समयमै पुल चर्किन शुरु गरेको थियो ।

पोखरा महानगरपालिका-३२ गगनगौंडा र वडा नम्बर ३३ लामगाँदे जोड्नेगरी सेती नदीमाथि बनिरहेको उक्त पुल परीक्षण नहुँदै भाँच्चिएको पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए । भार परीक्षणका लागि मालवाहक सवारी तयारी अवस्थामा राखिएको भए पनि प्रयोगमै नआई पुल चर्किन थालेपछि रोकिएको उनले सुनाए । ‘साथीहरूले राति पुलबाट आवाज आयो भने । बिहान गएर हेर्दा भाँच्चिएको पाइयो,’ वडाध्यक्ष कार्कीले भने ।

स्थानीय तथा पुल चर्किँदाका प्रत्यक्षदर्शी मेघनाथ आचार्यले टेको खोलेको केही समयमा नै चर्किन शुरु गरेको सुनाए । ‘एउटा गाडी नि चढाको थे’न । टेको खोलेको क्य्राक खाइहाल्यो,’ उनले भने, ‘मटेरियल कमसल हालेर क्य्राक खा’को भन्ने कुरो छ ।’

वडाध्यक्ष कार्कीले २०० टन भार क्षमताको उक्त पुलले आफ्नै भार धान्न नसक्दा भाँच्चिएको दाबी गरे । ‘तल स्टिल छ । माथि ढलान गरिएको छ । त्यसमा प्रयोग गरिएको स्टिल कमसल भएर आफ्नै ढलानलाई पनि धान्न सकेन,’ उनले भने । २०० टन पार गर्न सक्ने भनिएको छ । तर, त्यति पनि धान्न सकेन ।’ पुलको ट्रस्ट अड्याउन ३ वटा टेको प्रयोग गरिएको थियो ।

स्वीस सरकार विकास सहयोग (एसडिसी)को आर्थिक सहयोगमा उक्त पुल स्थानीय विकास पूर्वाधार (डोली)ले बनाइरहेको हो । डोलीले ०७५/७६ सालमा सेती नदीमाथि ५० मिटर लम्बाइ पुल बनाउन एमएस इलाइट कन्स्ट्रक्सन कम्पनीसँग ६ करोड ११ लाख रुपैयाँमा १८ महिनाभित्र सक्न सम्झौता गरेको थियो ।

शुरुमा ५० मिटरको पुल बनाउने सम्झौता भएको थियो । वातावरणीय प्रभाव मूल्यांकन गर्दा जमिनमा केही खराबी आएपछि ६० मिटर बनाउने सम्झौता भएको थियो । उक्त रिपोर्ट बमोजिम पुलको डिजाइन संशोधन गर्नुपरेकाले निर्माण कम्पनीले गत साउनदेखि काम शुरु गरेको थियो ।

कसरी भाँचियो अध्ययन हुन्छ : निर्माण कम्पनी

निर्माण कम्पनीले भने टेको हटाउँदा पुल भाँचिएको भनेर गलत प्रचार गरिएको जिकिर गरेको छ । ‘ट्रस्ट ब्रिजमा के को टेको हुन्छ ? लोड टेस्ट गर्दा सपोर्ट दिन राखिएका दुई वटा…त्यो निकाल्दा पुलले सेल्फलोड लिन सकेन,’ कम्पनीका प्रोजेक्ट इन्जार्ज जीवन पौडेलले भने ।

पुलमा निर्माण सामग्रीहरू आफूहरूले सम्झौताबमोजिम नै प्रयोग गरेको तर, के कति कारणले भाँचिन पुगेको भन्ने सर्वपक्षीय अध्ययन गरेर मात्रै कारण पत्ता लाग्ने पौडेलको भनाइ छ । भत्किएको उक्त पुल ‘प्रप्ड क्यान्टिलिभर’ शैलीमा नेपालमै पहिलो डिजाइन भएकाले पुलले भार वाहन गर्न नसक्नुको कारणबारे अनभिज्ञ रहेको उनले सुनाए ।

‘यो डिजाइन नेपालमै फस्ट टाइम हो । यो ट्रायल ब्रिज हो । सबै मेकानिजम नर्म्सवाइज नै गरेको हो,’ पौडेलले अनलाइनखबरसँग भने, ‘तर, ट्रस्टले आफ्नो सेल्फ लोड पनि किन लिन सकेन भन्ने कुरामा डिजाइनर, क्लाइन्ट, कन्ट्रयाक्टर सबै मिलेर प्राविधिक अध्ययन गर्ने भनेका छौं ।’

पुल निर्माणको समय पुसभित्रै सकिने भए पनि कोरोना महामारी र निर्माण सामग्री अभावले ढिलाइ हुन पुगेको ठेकेदार कम्पनीले दाबी गरेको छ । निर्माण ९९ प्रतिशत सकिइसकेको र हस्तान्तरणका लागि परीक्षण तयारी गर्दा पुलले आफ्नै भार वहन गर्न नसकेको पौडेलको भनाइ छ ।

‘पुस १८ भित्रै सकेर ह्यान्डओभर गर्ने विचारमा थियौं । तर, कोरोनाले डिस्टर्ब गर्‍यो । भनेको मटेरियल पनि समयमै आएन,’ पौडेलले भने, ‘बरु एक महिनाको फाइन तिर्ने विचारमा थियौं । अहिले यस्तो भयो ।’

पौडेलले ट्रस्टको सपोर्ट निकालेको करिब ढेड घन्टापछि समस्या देखिन शुरु गरेको जानकारी दिए । ‘सपोर्ट निकालेर अब गाडी चढाउने भन्दा सुरुमा आफ्नै लोड लिन नसकेर क्य्राक देखिन थाल्यो । त्यसपछि बिम क्य्राक हुन थाल्यो,’ उनले भने, ‘त्यसपछि हाराहारी ३०-४० सेन्टी क्य्राक भयो ।’

तपाईंको प्रतिक्रिया

थप खबर