कृष्ण ओली । नेपालगन्ज ।
उदाहरण नं. १
नेपालगन्ज उपमहानगरपालिका–१० बाट प्रहरीले आइतबार एक लाख ५७ हजार बढी मूल्य बराबरका सामान बरामद ग¥यो ।
सादा पोसाकमा खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली गरेर नेपाल भिœयाउँदै गरेको अवस्थामा ति सामानहरु बरामद गरेको थियो । तस्करहरुको समूहले लत्ताकपडा, जुत्ता, सुपारी र ब्येरिङ भन्सार छली गरेर नेपालगन्जतर्फ ल्याउँदै थिए ।
उदाहरण नं. २
गत असोज २६ गते नेपालगन्ज उपमहानगरपालिका–१५ बाट प्रहरीले नौ सय थान मोबाइल सेटहरु बरामद ग¥यो ।
ति ठूलो परिमाणमा मोबाइल सेटहरु समेत तस्करहरुको समूहले भारतबाट नेपालगन्जमा ल्याउँदै थिए । सोबेला बाँके प्रहरीले बरामद गरेका मोबाइलहरुको मूल्य अन्दाजी ६ लाख ३० हजार रुपैयाँ रहेको बताएको थियो ।
उदाहरण नं. ३
मंसिर २८ गते दिउँसो ३ बजेको समयमा नेपालगन्जको जयसपुर नजिकैबाट प्रहरीले लत्ता कपडा, चिनी र हार्डवयर सामानहरु बरामद ग¥यो । सोबेला पनि तस्करहरुले भारतबाट भन्सार छली गरेर ती सामानहरु नेपालगन्जतर्फ ल्याउँदै थिए । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको सादा पोसाकको प्रहरीले टोलीले त्यतिबेला तीन लाख मूल्य बराबरको अवैध सामानहरु बरामद गरेको थियो ।
माथि उल्लेखित उदाहरण मात्र होइन दैनिकजसो प्रहरीले भारतबाट अवैधरुपमा लिएका सामान बरामद गर्छ । तर दुःखद् कुरा मान्छेले भने पक्राउ पर्दैनन् उल्टै उन्मुक्ति पाउँछन् । भन्सार छलीका सामानहरु बरामद गरे पनि प्रहरीले उक्त कार्यमा संग्लन तस्करहरुलाई भने सकेसम्म पक्राउ गर्दैन ।
एकैपटकमा लाखौं मूल्यका भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिने गरे पनि तस्करहरुलाई भने छोड्ने गरेको छ । प्रहरीले तस्करका सामान मात्र नियन्त्रणमा लिएर तस्करलाई छोड्ने गरेको स्थानीयहरु बताउँछन् । नेपालगन्जका मेराज सिद्दिकीले भन्सार छलीका सामान नियन्त्रणमा लिएर तस्करहरुलाई छोड्ने गरेको बताउँछन् ।
‘प्रहरीले भन्सार छली गरेर ल्याएका सामानहरु बरामद गर्नु राम्रो कुरा हो,’ उनले भने, ‘प्रहरीले तस्करहरुलाई भने कहिल्यै पक्राउ गरेको भन्ने समाचार सुनिँदैन । तस्करलाई पनि पक्राउ गरेर कानुनको दायरामा ल्याउनुपर्छ ।’ प्रहरी स्रोतकै अनुसार सामान बरामद गरिसकेपछि तस्करहरुलाई भगाउने गरिन्छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेका भन्सार छलीका ९८ प्रतिशत बढी घटनामा तस्करहरु पक्राउ परेको देखिँदैन । तस्करी आफैँले सामान ओसारपसार कमै गर्छन । तस्करहरुले भरियाहरु प्रयोग गर्ने गरेको पाइएको छ ।
प्रहरी र तस्करीबीच ‘कनेक्सन’ हुँदा सामान ल्याउने भरियाहरु सहजै भाग्छन् । ‘एकदुई घटनामा भन्सार छलेर सामान ल्याउने व्यक्ति भाग्ने हो,’ नेपालगन्जका राजु चौधरीले भने, ‘तर यहाँ त सामान मात्र बरामद हुन्छ मान्छेलाई भगाइन्छ ।’ बेवारिसे अवस्थामा भन्दै प्रहरीले सामान मात्र बरामद गर्ने र भन्सारको जिम्मा लगाउने गर्छ । सामान समाउने र मान्छे भगाउने प्रहरीको कामले अझ बढी तस्करी मौलाउँदै गएको सर्वसाधारणहरुको भनाइ छ ।
बाँके जिल्लामा सरुवा भएर आएको पहिलो पत्रकार सम्मेलनमा एसपी श्यामकृष्ण अधिकारीले भनेका थिए, ‘म यहाँको तस्करीलाई शून्य पार्छु ।’ तर उनी आएको यति लामो समयसम्म पनि तस्करी शून्य त परको कुरा केही हदसम्म न्यूनीकरणसमेत भएको देखिँदैन ।
अहिले पनि तस्करी उस्तै छ । तस्करी उस्तै हुनुको कारण, ‘कारबाही नहुनु ।’ प्रहरीले तस्करीलाई देखेर पनि नदेझै गरेर छुटकारा दिँदा पनि तस्करी मौलाउँदै गएको बेलाबेला गुनासाहरु छताछुल्ल हुन्छन् ।
‘तस्करी भाग्दा समस्या’
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले तस्करहरुलाई नियन्त्रणमा लिन समस्या हुने गरेको बताउँछन् । सीमा क्षेत्रमा प्रहरीलाई देख्नेबित्तिकै तस्करहरु सामान छोडेर भारततर्फ भाग्ने गरेकोले समस्या हुने गरेको उनले बताए ।
‘तस्करका नाइकेहरु बुढाबुढी र बालबालिकालाई तस्कर सामान ल्याउन प्रयोग गरिरहेका हुन्छन्,’ उनले मिसन टुडेसँग भने, ‘त्यस्ताहरुलाई पक्राउ गर्न समस्या हुन्छ । ठूला तस्करहरु फेला परे नियन्त्रणमा लिएर कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउँछौं ।’
तस्करमा संग्लन मानिस हुँदै सामान मगाउने नेपालगन्जका ठूला व्यवसायीसम्म पुग्न सहज हुने भए पनि एसपी अधिकारी भने तस्करहरुले उनीहरुको नाम भन्न नमान्ने दाबी गरे ।
नेपालगन्जका केही ठूला तस्करहरुलाई मुद्दा चलाउन नेपालगन्ज भन्सार कार्यालयलाई आफूहरुले लेखी पठाएको उनले बताए । ‘केही तस्कर भाग्छन्, कहिलेकाहिँ भरियामात्र फेला पर्छन्,’ उनले भने, ‘तस्करका नाइकेहरु जोगिए पनि उनीहरुका नाममा समेत मुद्दा दर्ताको लागि लेखी पठाउने गरेका छौं ।’