देउवा परिवारसँग बतासको नाता जोडिँदाको रोचक सन्दर्भ

  पुष ३०, २०७८

देउवासँग मदिरापानसहितको रात्रीभोज गराइदिनुपर्ने बतासको शर्त थियो र, गुरुङले उक्त शर्त तत्काल मञ्जुर गरिदिए । रातको खाना बतासकै होटलमा खाने गरी गुरुङले सन्ध्याकालीन ‘रमझम’को व्यवस्था गरिदिए । हो, यही ‘मदिरा-साँझ’बाट शुरु भएको बतास-देउवाको सहयात्रा अहिलेसम्म जारी छ र, निकै गहिरो ब्यापारिक साझेदारीसम्म पुगेको छ ।

ऐतिहासिक नारायणहिटी राजदरबार परिसरभित्रै व्यापार-व्यवसाय सञ्चालन गर्ने ‘अनुमति पाएपछि’ रातारात विवाद र चर्चामा आएका आनन्दराज बताससँग प्रधानमन्त्री शेरबहादुर देउवाको नाता कसरी जोडियो भन्ने तथ्यको रोचक प्रसङ्ग घटना र विचारको जानकारीमा आएको छ । नेपाली काङ्ग्रेसको दशौँ महाधिवेशनका क्रममा भएको एउटा घटनाले देउवा र बतासलाई मदिराको टेबुलमा पुऱ्याएको र, त्यसपछि उनीहरूको सम्बन्ध प्रगाढ बनेको बुझिएको छ ।

आनन्द बतास तलबाट छोटो समयमै माथि उठेका ब्यापारी हुन् र, देउवाको परिवारसँग निकट भइसकेपछि उनले अन्य दलका कतिपय नेताहरूसँग पनि बलियो सम्बन्ध स्थापित गर्ने मौका पाएका थिए । पछिल्लो दशकमा पुराना उद्यमी-व्यवसायीहरूको हैसियत उजाडिँदै गएको र, तिनको स्थान राजनीतिक एवम् प्रशासनिक संरक्षणमा हुर्काइएका केही नयाँ अनुहारले लिन थालेको छ । २०६३ को राजनीतिक परिवर्तनपश्चात चर्चित बनेका सतिसलाल आचार्य, दीपक भट्ट, दीपक कुँवर, अजयराज सुमार्गी, उपेन्द्र महतो, यती समूह (स्व. आङ्काजी शेर्पा), विशाल पण्डित (ओम्नी), त्रिलोक अग्रवाल आदिको लहरमा अब आनन्दराज बतासको नाम पनि थपिएको छ । सानो व्यापार व्यवसाय सञ्चालन गरी छोटो समयमा अर्बपति बनेका बतासलाई सरकारी सम्पत्ति उपयोग गरेर कमाउने नसा लागेको उनका निकटवर्तीहरू बताउँछन् ।

तनहुँमा जन्मिएर आफ्नो भविष्य खोज्न पोखरा पुगेका आनन्द बतासलाई अन्य मामिलामा खराब मानिँदैन, तर धन आर्जनका निम्ति भने उनले सिधा बाटो हिँड्न नखोजेको तथ्यहरूले देखाएको छ । नारायणहिटी राजदरबारभित्र होटल-रेष्टुरेण्ट सञ्चालन गर्न तत्कालिक पर्यटनमन्त्री योगेश भट्टराईबाट ‘अनुमति’ पाउन सफल बतासले डा. मीनेन्द्र रिजाल पर्यटनमन्त्री हुँदा पोखरामा सङ्ग्रहालय (म्युजियम) सञ्चालित जमिन सस्तो दरले भाडामा लिएर गाडीको शोरुम राख्ने अवसर पाएका थिए । बतासले मारुतीसहित केही अन्य गाडीको शोरुम सरकारबाट सस्तो रकममा जमिन लिएर पोखराको नयाँ बजारमा सञ्चालन गरिरहेका छन् । म्युजियमलाई ओझेल पारेर सरकारी जमिनमा उनले सटरहरू निर्माण गरेपछि त्यहाँ सङ्ग्रहालय रहेको हेक्का राख्न स्थानीय बासिन्दाले छोडेका छन् ।

 

त्यस्तै, भारत सरकारको सहयोगमा पशुपतिनाथ परिसरको तिलगंगामा बनेको धर्मशालालाई होटलका रूपमा सञ्चालन गरी नाफा आर्जन गर्ने मौका पनि बतासले पाएका छन् । धर्मशालालाई होटलका रूपमा सञ्चालन गर्ने अनुमति पोखराकै रवीन्द्र अधिकारी पर्यटनमन्त्री हुँदा बतासलाई प्राप्त भएको बताइन्छ । बतासले तनहुँका सुन्दर पहाड र पोखराको सेती नदी वारिपारिका जमिन आफ्नो बनाउन पनि प्रयास गर्दै आएको पाइएको छ । सेती नदी किनारमा कम निजी जमिन खरिद गरेर नदीको सीमाभित्र पर्ने ठूलो क्षेत्र ओगट्ने गरेको आरोप पनि बतासमाथि लागेको छ ।

 

प्राप्त जानकारीअनुसार अर्जुन पौडेलले अहिले पनि सोही स्थानमा व्यवशाय सञ्चालन गरिरहेका छन् । जमिन खालि गराउन बतासबाट अनेकौँ प्रयास भइरहेको छ, तर अर्जुन गरिखाने उक्त जमिन छोड्नु परे आत्महत्या नै गर्ने भन्ने निर्णयमा पुगेका कारण बतासलाई अप्ठ्यारो परेको बताइन्छ । उनले कति सरकारी सम्पत्ति हात पारेका छन् र कति व्यक्तिलाई सुकुम्बासी बनाएका छन् भन्ने विषयमा अनुसन्धान नै हुनुपर्ने देखिएको छ । दुई दशकभन्दा केही अघिसम्म पोखरामा एउटा सामान्य टेलिफोन बुथ र सामान्य होटल सञ्चालन गरेर बसेका व्यक्ति शेरबहादुर देउवाको परिवारसँग जोडिनेबित्तिकै रातारात कसरी अर्बपति बने भन्ने विषयमा पनि धेरैको चासो रहँदै आएको छ ।

वि.सं. २०५६ मा नेपाली काङ्ग्रेसको महाधिवेशन पोखरामा आयोजना गरिएको थियो र, उक्त महाधिवेशनमा देउवाले गिरिजाप्रसाद कोइरालासँग सभापति पदमा प्रतिष्पर्धा गरेका थिए । त्यसबेला देउवा दम्पत्तीको बसाइ होटल साङ्ग्रीलामा थियो र, मतदानस्थल दीपेन्द्रसभा गृहबाट उक्त होटल धेरै टाढा परेकोले सभागृहनजिकै होटल खोज्ने क्रममा कार्यकर्ताहरूले बतासको स्वामित्वमा रहेको पृथ्वीचोकस्थित होटललाई प्रयोग गर्ने व्यवस्था मिलाए । महाधिवेशनमा आफ्नो सम्पूर्ण गतिविधि देउवाले सोही होटलबाट सञ्चालन गरे । देउवाको पराजयसँगै महाधिवेशन समापन भयो । बतासको होटलमा एक लाख बत्तीस हजारको बिल उठेको थियो । एक समय प्रतिनिधिसभा सदस्यमा कास्कीबाट निर्वाचित काङ्ग्रेस नेता कृष्णबहादुर गुरुङले एक लाख रुपैयाँ तुरुन्त भुक्तान गरी बाँकी रकम पछि दिने बताए । तर बतास सम्पूर्ण भुक्तानी तत्काल हुनुपर्ने अडानमा बसे ।

देउवा दम्पत्ति भोलिपल्ट काठमाडौं फर्कने योजनामा थिए, यता आफ्ना खास सहयोगीहरूको बसोबास र चुनावी गतिविधि गर्न आफैंले प्रयोग गरेको होटलको बिल तिर्ने हेक्का देउवाले राखेनन् । बतास र कृष्णबहादुर गुरुङबीच बत्तीस हजार रुपैयाँ भुक्तानीको विषयलाई लिएर विवाद-छलफल चल्दाचल्दै बतासले आफ्नो एउटा इच्छा पूरा गरिदिने भए भुक्तानी केही दिनपछि गरे पनि हुने शर्त राखे । सोही साँझ (अर्थात् देउवा काठमाडौं फर्कनुभन्दा अघिल्लो साँझ) देउवासँग मदिरापानसहितको रात्रीभोज गराइदिनुपर्ने बतासको शर्त थियो र, गुरुङले उक्त शर्त तत्काल मञ्जुर गरिदिए । रातको खाना बतासकै होटलमा खाने गरी गुरुङले सन्ध्याकालीन ‘रमझम’को व्यवस्था गरिदिए । देउवासँगै मदिरापानमा बस्दा बतासले बियर पिए र देउवाले चाहिँ ह्वीस्की । हो, यही ‘मदिरा-साँझ’बाट शुरु भएको बतास-देउवाको सहयात्रा अहिलेसम्म जारी छ र, निकै गहिरो ब्यापारिक साझेदारीसम्म पुगेको छ ।

त्यसरी मदिरा साँझ बिताएको पर्सिपल्ट ‘मनपर्ने’ ह्वीस्कीका बोतलहरूसहित बतास बुढानीलकण्ठस्थित देउवाको निवासमा हाजिर भए । मदिरासँगै उनीहरूको ब्यापारिक साझेदारीको योजना पनि बन्यो । पोखराको फेवाताल किनारमा रहेको रमाइलोडाँडा भनिने रातमाटेमा आरजुले सात रोपनी जग्गा खरिद गरेको र, उक्त जमिन बतासकै नाममा राखिएको चर्चा पोखरामा चल्दै आएको छ । आरजु राणाकै इच्छाअनुसार ज्ञानेन्द्रबहादुर कार्की र डा. प्रकाशशरण महतले ऊर्जा मन्त्रालय सम्हालेको समयमा आनन्दराज बतासलाई विद्युत प्राधिकरणको सञ्चालक (निर्देशक) बनाइएको थियो । दुई कार्यकालसम्म विद्युत प्राधिकरणमा रहँदा बतासबाट देउवा परिवारले के-कति लाभ हासिल गऱ्यो, सो खोजिनीतिको विषय बन्न सक्छ ।

आरजुको कृपाबाट बतासको आर्थिक हैसियत निकै उचालियो, आफ्नो अनुचित कमाइको श्रोत देखाउने प्रयोजनका निम्ति बतासको कम्पनीबाट आरजु राणाले मासिक पारिश्रमिक बापत लाखौँ रुपैयाँ बुझेको कागजी भरपाइ उक्त कम्पनीको खानतलासी लिने हो भने सजिलै फेला पर्नेछ । बतासलाई आफ्नो मात्र ठानेका देउवा दम्पत्तिले उनको अन्य दलका नेताहरूसँगको हिमचिमलाई भने स्वभाविक रुपले लिन नसकेको बुझिएको छ ।

 

तपाईंको प्रतिक्रिया

थप खबर