कोरोना संक्रमित भई भर्ना हुनेको संख्या शून्यमा झरेको थियो । तर केही दिनयता संक्रमितको भर्ना दर ह्वातै बढेको

  पुष २७, २०७८

२७ पुस, काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुस १७ र १८ मा कोरोना संक्रमित भई भर्ना हुनेको संख्या शून्यमा झरेको थियो । तर केही दिनयता संक्रमितको भर्ना दर ह्वातै बढेको छ ।

अस्पतालको तथ्यांकअनुसार आइतबार (२५ पुस) १३ जना संक्रमित भर्ना भएका छन् । हाल अस्पतालमा २६ जना संक्रमित उपचाररत छन् ।

लक्षण परिर्वतन, खोप लगाएका पनि संक्रमित

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार संक्रमित भएर उपचारका लागि आएका धेरै जनाको संक्रमणको स्रोत पहिचान हुन सकेको छैन । साथै लक्षण पनि विगतमा कोरोना संक्रमण हुनेलाई भन्दा केही फरक पाइएको छ । दोस्रो लहर (डेल्टा) ले अधिकांश मानिसमा स्वाद तथा गन्ध थाहा नपाउने समस्या देखिएको थियो । अहिले संक्रमितहरुमा गन्ध तथा स्वाद नआउने समस्या नदेखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. निरज बम बताउँछन् ।

 

डा. निरज बम
तर बढी बिरामीमा रुघाखोकी र ज्वरोका साथै घाँटी समातेको समस्या पाइएको छ । ‘भाइरसले श्वासनलीमा रहेको र्‍याललाई सुख्खा बनाउँछ, जसले गर्दा घाँटी खसखसाउने हुन्छ । तर अन्तिमसम्म फोक्सोलाई खराब बनाउँछ,’ उनी भन्छन् ।

हाल अस्पताल भर्ना भएका संक्रमितमध्ये झण्डै ५० प्रतिशत खोप लगाएकाहरु नै छन् । अस्पतालका कोरोना फोर्कल पर्सन डा. बम भन्छन्, ‘मंसिर पहिलो–दोस्रो हप्ता खोप लगाएका ५–१० प्रतिशत भर्ना भएका थिए । तर अहिले भर्ना भएकामध्ये ५० प्रतिशतभन्दा बढी खोप लगाएका संक्रमित छन् ।’

त्रिवि शिक्षण अस्पतालको आईसीयूमा ७ जना संक्रमित उपचार गराइरहेका छन्, जसमध्ये ४ जनाले दुबै डोज खोप लगाएका थिए । कोभिसिल्ड तथा भेरोसेल खोप लगाएका मानिसहरु पुनः संक्रमित भएको देखिएकाले खोपको रोग प्रतिरोधात्मक क्षमता (एन्टीबडी) घट्दै गएको चिकित्सकको आंकलन छ । ‘विभिन्न अनुसन्धानले ६ महिनापछि एन्टीबडी घट्दै गएको देखाएको छ, हामीकहाँ पनि खोप लगाएका मानिसहरु पनि आईसीयूमा भर्ना गरेर राख्नुपरेको छ,’ डा. बम भन्छन् ।

उनका अनुसार अस्पताल भर्ना भएकामा अधिकांश दीर्घरोगी तथा ५० बर्षभन्दा माथिका नै छन् । दीर्घरोगी, जेष्ठ नागरिक तथा बालबालिकालाई जोगाउन पर्ने देखिन्छ,’ डा. बम भन्छन् ।

पछिल्लो समय फेला परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर तीव्र रुपमा फैलिरहेकाले कोरोना खोप अभियानलाई बढाउनुपर्ने र दुबै डोज लगाएको ६ महिनाभन्दा बढी समय भएकाहरुलाई बुस्टर डोज दिनुपर्ने डा. बम बताउँछन् । ‘दुवै डोज खोप लगाएर सुरक्षित छु भनेर बस्नु मुर्खता हो, खोप लगाएपनि अनिवार्य रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ,’ डा. भन्छन् ।

बेवास्ता गर्दा थप जोखिम

बालाजुमा बसोबास गर्ने ३२ बर्षीय युवक सुमन शर्मा (नाम परिवर्तन) ६ पुसमा अस्पताल आइपुगेका थिए ।

उनको फोक्सोमा निमोनिया देखिसकेको थियो । ‘अस्पताल आउनुभन्दा अगाडि रुघाखोकीलाई बेवास्ता गर्दै क्लिनिकको औषधि सेवन गर्नुभएको रहेछ । चार–पाँचदिन पश्चात संक्रमणले गाह्रो बनाएपछि मात्रै अस्पताल आउनुभयो’ डा. बम भन्छन्, ‘त्यही कारण उनको फोक्सोमा निमोनिया फैलिसकेको थियो ।’

 

उनलाई प्रतिघन्टा दुई लिटरबाट अक्सिजन दिन शुरु गरिएकामा पछिल्लो समयमा १५ लिटरसम्म दिनुपरेको चिकित्सकहरु बताउँछन् । तर चिकित्सकहरुले उनलाई बचाउन सकेनन्, सोमबार बेलुकी उनको मृत्यु भयो ।

चिकित्सकहरुका अनुसार निमोनिया देखिएको शुरुवाती चरणमा अक्सिजन दिन सके बिरामीलाई बचाउन सकिन्छ । छाती रोग विशेषज्ञ डा. बम भन्छन्, ‘रुघाखोकी र ज्वरो आउनासाथ परीक्षण गरेर उपचारमा आएको भए बचाउन सकिथ्यो कि !’

कोरोना महामारीको दोस्रो लहरमा पनि अस्पतालमा बेड खाली छैन वा ठीक भइहाल्छ नि भनेर धेरै संक्रमितहरु घरमै बसे । यसरी बेलामा अस्पताल नजाँदा होम आइसोलेसनमा नै कतिपयको मृत्यु भयो । अहिले पनि धेरै मानिसहरुले लक्षण हेरेर सामान्य रुघाखोकी भनेको स्वास्थ्य समस्या कोरोना संक्रमण हुनसक्छ र, समयमा परीक्षण गरेर उपचार नगर्ने हो भने जटिलता ल्याउन पनि सक्छ ।

‘कोरोना संक्रमणले अक्सिजनले लेबल ह्वातै घटाउँछ । निमोनिया भएका मानिसमा अक्सिजनको महत्व प्रत्येक पलको हुन्छ,’ डा. बम भन्छन्, ‘दम जस्ता रोगमा अक्सिजन लेबल घट्न केही समय लाग्नसक्छ, तर कोरोनामा केही मिनेटमै अक्सिजन लेबल घटेर मानिसको मृत्यु हुन्छ ।’ त्यसैले डा. बमको सुझाव छ, अक्सिजन लेबल ९० भन्दा तल झरेको अवस्थामा तुरुन्तै अस्पताल पुग्नुपर्छ ।

दोस्रो लहर (जतिबेला डेल्टा भेरियन्ट फैलिएको थियो) का बेला सरदर १०० जना मानिसमा संक्रमण देखिँदा १५/२० जनालाई अक्सिजनसहितको उपचार आवश्यक परेको थियो ।  अहिले फैलिएको ओमिक्रोनलाई डेल्टा भन्दा कम घातक मानिएको छ, तर बढी संक्रामक छ । एक व्यक्तिले धेरै जनालाई संक्रमण सार्न सक्ने भन्दै डा. बम भन्छन्, ‘धेरै जना संक्रमित हुँदा आईसीयू र भेन्टिलेटरमा जाने बिरामी पनि बढ्छन् ।’

अस्पतालको तयारी कस्तो छ ?

डा. बमका अनुसार दोस्रो लहरको तुलनामा स्रोत साधनमा केही सुधार भएको छ । तर दोस्रो लहरभन्दा बढी संक्रमित भर्ना भएमा फेरि पनि व्यवस्थापनमा कठिन हुन्छ ।

अस्पताल भर्ना हुने संक्रमितको संख्या बढेसँगै कोरोना संक्रमणबाहेक अन्य समस्या (नन कोभिड) का बिरामीहरुको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । संक्रमण घटेसँगै शिक्षण अस्पतालले कोभिडका बिरामीका लागि छुट्याएको बेड संख्या घटाएको थियो । ‘अहिले नन कोभिडका बिरामीले अस्पतालका शय्या भरिएका छन् । केही दिनभित्रै संक्रमण ‘आउट ब्रेक’ भएमा हामीलाई ठूलो चुनौती सामना गर्नुपर्ने हुनसक्छ,’ डा. बम भन्छन् ।

दोस्रो लहरमा सबभन्दा अभाव भएको अक्सिजन भने अहिले एक हदसम्म जोहो भएको छ । अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । ‘दोस्रो लहरमा अक्सिजन अभावका कारण घरमै वा अस्पतालको प्रागंणमा धेरै मानिसको मृत्यु भएको थियो,’ डा. बम भन्छन्, ‘अहिले भने ४०० बिरामीलाई अक्सिजन पुर्‍याउन सक्छौं । त्यसभन्दा पनि बढी संक्रमित भर्ना भए व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’

तपाईंको प्रतिक्रिया

थप खबर