तिनवटा मेयर हिड्ने लमही घोराही सडकको अवस्था कतै खाल्डाखुल्डी, कतै जिर्ण, कतै धूलाम्य

  पुष २२, २०७८

लमही देखि घोराही जोड्ने सडक जिर्ण बन्न थालेको छ । गतवर्ष सडकमा रहेका खाल्डाखुल्डी पुरीयो तर पुरेको एकवर्ष नबित्दै पुन : सडकमा खाल्डा पर्न थालेका छन् । सडक साँघुरो भएका कारण दुर्घटनाहरु समेत बढ्ने जोखिम बढेको छ । तुलसिपुर घोराही फोरलेनको काम अगाडि बढेता पनि लमही घोराही सडकको भने दुर्दसा नै देखिन्छ । लमही घोराही सडकखण्ड पुनः निर्माण गर्नुपर्ने देखिएको छ । सडकका अधिकांश खण्ड जीर्ण हुँदै गएको छ । सडक खण्डअन्तर्गत ठाउँठाउँमा परेका खाल्डा पुर्न सडक डिभिजन कार्यालय दाङले वर्षेनी टालटुलमात्र गर्दै आएको छ । खाल्डैखाल्डाले भरिएपछि दैनिक यात्रा गर्न समेत जोखिम बढेको छ ।

अहिले त झन् सडक डोजरले कोतरेझै सडक धूलाम्य भएको छ । केही पनि नदेखिने गरी धूलो उड्छ, घरबाट सफा लुगामा गएका व्यक्ति मसोट उकालोमा पुग्दा धूलाम्य भइसक्छ, स्थानीय शेरसिङ् खड्काले भने,—। ‘सडकमा हिडिनसक्ननु गरी धूलो उड्छ, सासै फेर्न गाह्रो हुन्छ। सोही सडक भएर लमही नगरपालिकाका मेयर कुलबहादुर केसी, घोराही उपमहानगरपालिका मेयर नरूलाल चौधरी र तुलसीपुर उपमहानगरपालिका मेयर धनश्याम पाण्डे दैनिक ओहोर दोहोर गर्ने भए पनि सडकको स्तरोन्नति र मर्मतका लागि खासै ध्यान नदिँदा जनताले सास्ती खेप्नुपरेको छ ।’ ‘यही बाटो भएर दैनिक तिनजना मेयर हिँड्नुहुन्छ , उनीहरुलाई यहाँको दुःख थाहा नभएको हैन, सडक मर्मतसम्भारको लागि चासो नदेखिएकाले लामो समय देखि सास्ती खेप्नुपरेको हो ।’

 

लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले सडकबारेमा व्यापक गुनासो आउने गरेको स्वीकारे । उनले ठाउँठाउँमा सडक बिग्रिँदा आवतजावतमा समस्या भएको विषयमा आफूलाई थाहा भएको र जनताको समस्या समाधानका लागि पहल गरिरहेको बताए । उनले भने, ‘हामीले लमही घोराही सडकलाई हेर्ने मिल्दैन, तर, सडक डिभिजन कार्यालय दाङसंग सडक मर्मतको लागी पटकपटक अनुरोध गर्ने गरेका छौँ । लमही घोराही सडक हेर्ने लायक छैन ।’

यता घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले मंगलवार मात्रै लमही घोराही सडक मर्मतको लागी सडक डिभिजन कार्यालय दाङलाई अनुरोध गरेको जानकारी दिए । ‘मैले इञ्जिनियरसंग फोनमा कुराकानी गर्दा सडक मर्मतको लागी टेण्डर आह्वन गरेका छौँ । अव मर्मतको कामलाई अगाडि बढाउने तयारी भइरहेको छ, फोनमा इञ्जिनियरसंग गरेको कुराकानी मेयर नरुलाल चौधरीले भने ।’ यस्तै तुलसिपुर उपमहानगरपालिका मेयर धनश्याम पाण्डेले आफुले पनि लमही घोराही सडक मर्मतको लागी सडक डिभिजन कार्यालय दाङलाई अनुरोध गर्दै आएको जानकारी दिए ।

पुरिएन सडकका खाल्डाखुल्डी

सरकारी उच्च निकायले पटकपटक निर्देशन गर्दासमेत लमही घोराही सडकखण्डको खाल्डाखुल्डी पुर्न ढिलाइ भएको छ । घोराही लमही सडक सुधारमा सुस्तता कायमै छ । यता सडक डिभिजन कार्यालय दाङले परिणाममुखी काम गर्न नसकेको स्वीकार गर्दै आउँदो दुई महिनाभित्र खाल्डाखुल्डी पुर्ने तथा लमही घोराहीसम्मको सडक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । अहिले पनि ठूलाठूला खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम कायमै छ । कतै भत्किएर ट्राफिक व्यवस्थापनमा समस्या देखिंदै आएको छ । मुख्य मोडहरुमा खाल्डाखुल्डीका कारण ट्राफिक व्यवस्थापनमा समस्या परिरहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

सडक डिभिजन कार्यालय भन्छ

यता सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुबेदीले लमही घोराही सडक मर्मतको जिम्मेवारी तुलसिपुर घोराही फोरलेन सडक ठेकेदारको भएको बताए । उनले भने,—। लमही घोराही सडकखण्ड मर्मतको काम फोरलेनको भएतापनि फोरलेनले काम नगरेपछि हामीले सडक मर्मतको कामलाई अगाडि बढाएका छौँ । पहिलो चरणमा वीसलाख बजेट विनियोजन गरि घोराहीको कुइरेपानी देखि काम अगाडि बढाएका छौँ । अव थप सडक मर्मतको लागी एक करोड वीसलाख बजेट विनियोजन गर्ने तयारी भइरहेको छ । सडक मर्मतको बिग्रेको भाग कोटर्ने, ठाउँठाउँमा टालटुल गरी नयाँ सर्फेस(पीच)गर्ने, आवश्यक ठाउँमा ढलान गर्ने काम हुने उनले जानकारी दिए ।
साभार उज्यालो नेटवर्क

तपाईंको प्रतिक्रिया

थप खबर