सरकारले थाल्यो अफगानिस्तान बारे छलफल

  भदौ १, २०७८

१९ भदौ, काठमाडौं । अफगानिस्तानमा तालिबानको आगमनसँगै त्यसले नेपालमा पार्न सक्ने प्रभाव र अपनाउनुपर्ने रणनीतिका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषदमा छलफल भएको छ । बुधबार र बिहीबार भएको छलफलको संयोजन राष्ट्रिय सुरक्षा परिषद सचिवालयले गरेको थियो । छलफलमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सहभागिता थियो । छलफलमा सहभागी उच्च सुरक्षा स्रोतका अनुसार मुख्यतः तीन विषयमा छलफल केन्द्रित थियो ।

पहिलो, अफगानिस्तानबाट नेपालीहरुको उद्धार प्रक्रिया र चुनौती । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार साँझसम्म सरकारले ८६३ जनाको उद्धार गरेको छ । अझै ३४ जना उद्धारको प्रक्रिया रहेको छ । उनीहरुले अर्काे हप्ता संयुक्त राष्ट्रसंघको एक चार्टर्ड विमानद्वारा काठमाडौं ल्याउने तयारी भइरहेको छ । सो छलफलमा अफगानिस्तानमा रहेका नेपालीलाई तालिबानले राम्रो व्यवहार गरेको र उनीहरुलाई कुनै पनि सुरक्षा चुनौती नभएको बिफ्रिङ भएको थियो । स्रोतले भन्यो,‘उद्धार प्रक्रिया सन्तोषजनक छ र बाँकी नेपाली पनि सुरक्षित रहेको निष्कर्ष रह्यो ।’

दोस्रो, तालिबानको सरकार निर्माणसँगै नेपालले कस्तो खालको नीति अपनाउने ? तालिबानको सरकारसँग कस्तो नीति लिने र अन्तर्राष्ट्रिय फोरममा कूटनीतिक रुपमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल भएको थियो । छलफलमा सहभागी एक अधिकारीले भने, ‘तालिबानले सरकार नबनाइसकेको समयमा अहिलेलाई पर्ख र हेरको नीति अवलम्बन गर्नुपर्ने सहभागीको सुझाव थियो ।’

तेस्रो, तालिबानको आगमनले दक्षिण एसिया र नेपालमा पर्न सक्ने सुरक्षा प्रभाव । विशेषतः तालिबानको आगमनले दक्षिण एसियामा रहेका अतिवादी समूहरुको मनोबल बढ्ने र त्यसले नेपालमा पर्न सक्ने प्रभावको बारेमा छलफल भएको थियो । त्यसैगरी दक्षिण एसियामा शरणार्थीको समस्या अझ बढ्नसक्ने र त्यसले नेपाललाई पार्ने प्रभावका विषयमा सहभागीहरुबीच छलफल भएको थियो ।

 

तपाईंको प्रतिक्रिया

थप खबर