काँग्रेसका कृष्णचन्द्र नेपाली भए गण्डकीको मुख्यमन्त्री

  जेठ २, २०७८

गण्डकी पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद आचार्यले जानकारी दिए ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए ।

तर प्रदेश प्रमुखको कार्यालयले भने पोखरेलको मात्र दाबी परेकाले मुख्यमन्त्री नियुक्त गरिएको उलेख गरेको छ । मुख्यमन्त्रीमा नियुक्त पोखरेलले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

को हुन् गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली ?

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली थरले पोखरेल भए पनि उनी थरको सट्टा नेपाली लेख्ने गर्छन् । नेपाली २००६ सालमा तनहुँ (हालको व्यास नगरपालिका ११) मा जन्मिएका थिए । कांग्रेस तनहुँका संस्थापक नेता गोवर्धन पोखरेलका छोरा हुन् । प्रवासमा लामो समय बसेका उनका बाबुको सर्वस्वहरण भएको थियो । राजनीतिक परिवारमा जन्मिएका नेपाली भद्र, शिष्ट र मिलनसार नेताको रुपमा परिचित छन् । दुई विषयका स्नातक नेपालीले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् ।

नेपालीले प्रदेशसभामा नवलपरासी–१ को ‘क’बाट नेपालीले माओवादी केन्द्रका सूर्य न्यौपानेलाई पराजित गरेका थिए ।

नेपालीले १७ हजार ६८३ मत पाएका थिए । न्यौपानेले १७ हजार ३११ मत ल्याएका थिए । माओवादीका न्यौपाने ३७२ मतले पराजित भएका थिए । नेपाली लामो समय नवलपरासीका कांग्रेस जिल्ला सभापति पनि भए ।

४८ सालपछि निरन्तर झण्डै २० वर्ष पार्टी नवलपरासी कांग्रेसको जिल्ला सभापति भएका हुन् । २०४८ सालको निर्वाचनमा तत्कालीन नवलपरासी–४ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए । उनी त्यसपछि प्रतिनिधिसभा र संविधानसभामा उम्मेदवार बनेनन् ।

यसअघि एक कार्यकाल उनी कांग्रेसको केन्द्रीय सदस्य भएरसमेत काम गरेका छन् । १३ औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा नेपाली पराजित हुन पुगे ।

चार भाइमध्ये नेपाली माइलो हुन् । उनका दाइ रामचन्द्र पोखरेल कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव भएका थिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेल नेपालीका भाइ हुन् ।

कान्छा भाइ सुवास भने अमेरिकामा बस्छन् । सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाको सहमतिमा नेपाली गण्डकी प्रदेशमा कांग्रेसका तर्फबाट संसदीय दलको नेता बनाइएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर