९९ भोट ल्याएकी रेणुका गुरूङ बनिन् राज्यमन्त्री

  जेठ २२, २०७८

प्रधानमन्त्री ओलीले शुक्रबार रेणुका गुरूङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त गरेका हुन्। उनले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्। 
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उनी काठमाडौंको टोखा नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन्। तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट उम्मेदवार बनेकी गुरूङले उपप्रमुखमा ९९ मत पाएको निर्वाचन आयोगको तथ्यांक छ। 
टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)की ज्ञानमाया डंगोल निर्वाचित भएकी थिइन्। उनले आठ हजार ९८ मत पाएकी थिइन्। 
नवनियुक्त राज्यमन्त्री गुरूङ राजनीतिमा लागेको पनि चार वर्षमात्रै भएको छ। उनी स्थानीय तहको निर्वाचन अघि फोरमको टोखा नगर कमिटी अध्यक्ष बनेकी थिइन्। 
उपप्रमुखमा पराजित गुरूङलाई फोरमले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार बनाएको थियो। उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन्। 
जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्ष उपेन्द्र यादव पक्षकी उनले पछिल्लो समय अर्का अध्यक्ष महन्थ ठाकुरलाई सघाएकी थिइन्। यादव पक्षलाई छोडेर आएकाले नै उनलाई राज्यमन्त्री बनाइएको ठाकुर पक्षको भनाइ छ। 
उनी जसपा एकीकरण हुनुअघि फोरमलाई फुटाउने ६ जना सांसदमा थिइन्। त्यतिबेला प्रधानमन्त्री ओलीले फोरमलाई फुटाउनका लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए। 
सुनसरीको रामधुनी नगरपालिका–६ की गुरूङ हाल काठमाडौंमा बस्दै आएकी छिन्। समाजसेवामा सक्रिय उनी नेपाल मानव कल्याण संगठन र दिगो विकास केन्द्रकी अध्यक्ष भइसकेकी छिन्। 
 

तपाईंको प्रतिक्रिया

थप खबर