ओलीसँग सहमति जुटे यी नेताले कार्यकर्ता भेलामार्फत खनाल–नेपालसँग सम्बन्धविच्छेद गर्ने

  जेठ १, २०७८

याेगेश ढकाल

पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालले नेतृत्व गरेकाे एमालेको असन्तुष्ट समूह पनि विभाजित हुने संकेत देखिएको छ । एमाले अध्यक्ष केपी ओली खनाल–नेपाल समूहलाई विभाजन गरी कमजोर बनाउने रणनीतिको सफलतानजिक पुगेका छन् । त्यसैका लागि निरन्तर प्रयासमा रहेका ओलीले स्पष्टीकरण सोधिएका १२ जना नेताहरूलाई कारबाही नगरी पार्टीको स्थायी समिति बैठक सारिरहेका छन् ।
खनाल–नेपाल समूहका नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईसहितका केही नेताहरू एमालेभित्रै अन्तरसंर्घष गर्ने निर्णयसहित समाहित हुने प्रयासमा छन् । त्यसैले अध्यक्ष ओलीनिकट नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र शंकर पोखरेलसँग खनाल–नेपाल समूहका नेताहरू भुसाल, पाण्डे, विष्ट र भट्टराई निरन्तर संवादमा छन् ।

यी दुई पक्षका नेताहरूले १७ जेठ राति याक एण्ड यति होटलमा लामो संवादपछि अनौपचारिक संवादलाई पनि तीव्रता दिएका छन् । त्यसै मेसोमा १९ जेठ दिउँसो महासचिव ईश्वर पोखरेलसँग नेता योगेश भट्टराईले छलफल गरेका छन् ।

खासमा खनाल–नेपाल समूहका दोस्रो पुस्ताका नेताहरू एमालेमै समाहित हुन फेस सेभिङको खोजीमा छन् । त्यसका लागि अध्यक्ष ओली २ जेठ ०७५ कै सेरोफेरोमा पार्टीलाई मिलाउने राजनीतिक निर्णयकाे तयारीमा छन् । त्यसका लागि ओली पक्षबाट दोस्रो तहमा नेता र खनाल–नेपाल समूहका दोस्रो तहका नेताहरूबीच लगभग सहमति भइसकेको छ । एमाले स्रोतका अनुसार, प्रक्रियागत रूपमा केही सहमति जुट्न नसकेका कारण मात्रै १९ जेठको एमाले स्थायी समिति बैठक स्थगित भएको हो ।

कार्यकर्ता भेला गरेर सम्बन्धविच्छेद गर्ने

१७ जेठको राति होटल याक एण्ड यतीमा भएको भेलामा ओली पक्षका नेताहरूले दुईवटा सर्त राखेका थिए । एक– शेरहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेका हस्ताक्षर फिर्ता लिनुपर्ने । दुई– माधव नेपाल, झलनाथ खनाल र भीम रावलबाहेक आउनुपर्ने ।

यी दुवै सर्तमा खनाल–नेपाल पक्षबाट उपस्थित नेताहरू सहमत देखिएका थिए । त्यसमा भुसालले मात्रै छलफल गर्नुपर्ने बताएका थिए । यी सर्त खनाल–नेपालका अन्य नेताहरूसम्म पुगेको थियो । सुरेन्द्र पाण्डेले वारेसनामाबाट हस्ताक्षर गरेका थिए भने घनश्याम भुसालले चाहिँ आफैँ हस्ताक्षर गरेका छन् । गोकर्ण विष्ट र योगेश भट्टराईले हस्ताक्षर गरेका छैनन् । त्यसैले पाण्डे र भुसालले हस्ताक्षर फिर्ता लिनेछन् ।

हस्ताक्षर फिर्ता लिन सहमत भएको अवस्थामा ओलीले २ जेठ ०७५ को आसपासमा पार्टीलाई एकतावद्ध बनाएर लैजाने राजनीतिक अपिल गर्नेछन् । एमाले स्रोतका अनुसार खनाल–नेपाल समूहका दोस्रो पुस्ताका नेताहरूलाई उक्त अपिलले ‘फेस सेभिङ’का लागि सहजीकरण गर्नेछ र उनीहरू एमालेभित्रै अन्तरसंघर्ष गर्ने निर्णयसहित खनाल–नेपालसँग सम्बन्धविच्छेद गरेर एमालेमा समाहित हुनेछन् । स्रोतका अनुसार, ओलीले राजनीतिक अपिल गरेलगत्तै खनाल–नेपाल समूहका दोस्रो तहका नेताहरूले कार्यकर्ता भेला गर्ने र पार्टीलाई २ जेठ ०७५ मा फिर्ता गराउन सफल भएको सन्देश सम्प्रेषित गर्नेछन् ।

RITZShikhar Insurance
त्यसैगरी, ओलीले जिल्ला तहका नेता कार्यकर्ताको हकमा वरिष्ठताका आधारमा जिम्मेवारी दिने सहमति गर्नसक्ने पनि एमाले स्रोतको दाबी छ । त्यस्तो सहमति भए खनाल–नेपाल समूहमा भएका जिल्लाका वरिष्ठ नेताहरू एमालेमै फर्किने अध्यक्ष ओली पक्षको बुझाइ छ ।

वार्ताको विषयमा विस्तृत व्रिफिङचाहिँ खनाल–नेपाल समूहको स्थायी समितिमा भएको छैन तर सर्तको विषयमा भने जानकार छन् । शिलापत्रसँग कुराकानी गर्दै स्थायी समिति सदस्य युवराज ज्ञवालीले सर्तहरू आए पनि मान्य नहुने बताए । ज्ञवालीले भने ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निर्णय सनकको भरमा नभई राजनीतिक एजेण्डासँग जोडिएको विषय हो, त्यो सर्त मान्य हुँदैन ।’

खनाल–नेपाल समूहलाई कति असर ?

खनाल–नेपाल समूहको दोस्रो पुस्ताका केही नेताहरू ओलीमा समाहित भएको अवस्थामा सांगठनिकभन्दा बढी असर ‘सन्देश’ मार्फत पर्नेछ । पाण्डे, भुसाल, विष्ट र भट्टराई बाहिरिएको अवस्थामा संगठनमा पकड भएको नेता भीम रावल मात्रै बाँकी रहनेछन् ।

एमालेको पुरानो पुस्ताका नेताहरू मुकुन्द न्यौपाने, बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरालगायतका नेताहरू खनाल–नेपालसँग रहे पनि दोस्रो पुस्तामा नेताहरू जो तल्लो तहसम्म परिचित छन्, ती नेताहरू नहुँदाको पीडा खनाल–नेपाल समूहले ब्यहोर्नु पर्नेछ । संगठनकै प्रभावको हिसाबमा भने धेरै ठूलाे असर पर्ने छैन् ।

तत्लो स्तरका नेता कार्यकर्ता पहिला नै कित्ताकाट भइसकेकोले थोरै मात्र प्रभाव पर्ने दाबी खनाल–नेपाल समूहका नेताहरूकाे छ । तर, विभाजित पार्टीमा भविष्य नदेख्ने एउटा पंक्ति भने दोस्रो तहका नेताहरूसँगै एमालेमा फर्किन सक्छन् । त्यसका लागि पाण्डे, भुसाल, विष्ट र भट्टराईहरूको टोलीले तल्लो तहका कार्यकर्ता र नेताहरूको व्यवस्थापनमा कस्तो सहमति जुटाउँछन् भन्नेले पनि फरक पर्नेछ ।

यो टिमसँग अहिले खनाल–नेपाल समूहमा खुलेका युवापुस्ताका केही नेताहरू पनि फर्किन सक्छन् । गणेश पहाडी, दीपकप्रकाश भट्ट, ठाकुर गैरेलगायतका नेताहरू खनाल–नेपाल समूहमा नरहन सक्छन् ।

shilapatra.com बाट साभार गरिएको।

तपाईंको प्रतिक्रिया

थप खबर