विद्यार्थीलाई व्यवसायीक सीप तालिम सम्बन्धीअभिमुखिकरण

  असार ११, २०८१

घोराही । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिममा जान चाहाने एसईई दिएर बसेका विद्यार्थीलाई व्यवसायीक सीप तालिम सम्बन्धी अभिमुखीकरण गरिएको छ । घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाको आयोजना एवं हेल्भेटासको प्राविधिक सहयोगमा एक दिने अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो । दिगो तथा सम्मानीत रोजगारीका लागि सीप परियोजना दोस्रो चरण अन्तर्गत प्राविधिक शिक्षा तथा व्यवसायीक तालिममा जान चाहेका विद्यार्थीलाई प्रशिक्षण दिइएको परियोजनाका घोराही फोकल पर्सन मोतिराम न्यौपानेले जानकारी दिनुभयो । उहाँले १५ माध्यमिक विद्यालयका तीन जना शिक्षक र तीन जना विद्यार्थीको सहभागीतामा प्रशिक्षण दिइएको जानकारी दिनुभयो । विद्यार्थीलाई हेल्भेटासका ज्ञानप्रसाद थारुले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाको वडा नम्बर २ को जनता मावि बुका, वडा नम्बर ३ को मावि झिङ्नी, वडा नम्बर ४ को मावि डाँडागाउँ गोग्ली, वडा नम्बर ५ को महेन्द्र मावि धर्ना, वडा नम्बर ६ को मावि जजरागाउँ, वडा नम्बर ७ को मावि सौडियार, वडा नम्बर ८ को मावि ढिकपुर, वडा नम्बर ९ को नरदेवी मावि तेघरा, वडा नम्बर १० को जनजागृति मावि लमडरुवा, वडा नम्बर ११ को बालकल्याण मावि खैरा, वडा नम्बर १२ को मावि निघुवार, वडा नम्बर १३ को बराहक्षेत्र मावि सेवार बनगाउँ, वडा नम्बर १४ को वालविकास मावि नयाँ बजार, वडा नम्बर १७ को गोरक्ष रत्ननाथ मावि चौघेरा, वडा नम्बर १८ को मावि रझेना र वडा नम्बर १९ को भगवति मावि होडवाङको सहथागीता थियो ।

दिगो तथा सम्मानीत रोजगारीका लागि सीप परियोजना दोस्रो चरणका घोराही फोकल पर्सन मोतिराम न्यौपानेले बजार क्षेत्रका विद्यालय बाहेकका माविको सहभागीतामा कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले मावि तहमा पढाई गर्दा नै विद्यार्थीले आफ्नो भोलीको लक्ष्य तयार पार्नुपर्ने बताउनुभयो । त्यसैका लागि सरकारले विद्यार्थीहरुलाई सिप, ज्ञान र रोजगारका लागि अभिमुखिकरण गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतम, महाशाखाका प्रा।स। तथा इन्स्योर फोकल पर्सन मोतीराम न्यौपाने, हेल्भेटास नेपालका फिल्ड मोनिटर ज्ञानु चौधरीले विद्यार्थीहरुलाई प्राविधिक शिक्षा तथा व्यवसायीक तालिमका विषयमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण महाशाखाका प्रशासन सहायक विपना वर्तौलाले गर्नुभएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर