काठमाडौँ — चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशंका गरिएको छ । रक्षामन्त्री ली साङ्फु दुई सातादेखि सार्वजनिक रूपमा नदेखिएकाले उनीमाथि भ्रष्टाचार मुद्दा लगाएर बर्खास्त गरिएको हुनसक्ने वालस्ट्रिट जर्नलले जनाएको छ ।
रक्षामन्त्री लीको अनुपस्थितिलाई लिएर एकजना वरिष्ठ अमेरिकी कूटनीतिज्ञले प्रश्न उठाएका छन् । जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले चिनियाँ सरकारमा ‘बेरोजगारी दर’ अति उच्च रहेको तथा धेरै वरिष्ठ सैन्य अधिकारीलाई अवकाशमा पठाइएको उल्लेख गर्दै रक्षामन्त्री लीको अनुपस्थितिले उनलाई जिम्मेवारीविहीन बनाइएको पुष्टि गर्न बल मिलेको बताएका छन् ।
अमेरिकाका लागि चीनका राजदूत रहेका छिन गङलाई अप्रत्यासित रुपमा बेइजिङ बोलाएर विदेशमन्त्री बनाएको केही महिना बित्न नपाउँदै उनलाई बर्खास्त गरेर वाङ यीलाई पुनः विदेशमन्त्री नियुक्त गरिएको कारण हाल सम्म खुलाइएको छैन । जनरल लीका सम्बन्धमा पनि चिनियाँ सरकारले धेरै कुरा गरेको छैन,’ अमेरिकी राजदूतले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । रक्षामन्त्री ली राष्ट्रपति सीकै निकट रहेको अलजजिराले उल्लेख गरेको छ ।