काठमाडौं/३२ साउन-त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०८०/०८१ का लागि बी.ई. र बी.आर्कमा अध्ययन गर्ने चाहाने विद्यार्थीका लागि प्रवेश परीक्षा सञ्चालनका लागि आवेदन माग गरेको छ । विभिन्न आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूमा संचालित १२ वटा कार्यक्रमहरूमा इन्जिनियरिङ अध्ययनका लागि भर्ना लिन प्रवेशको आवेदन माग गरेको हो ।
विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्यूटर विधिमार्फत संचालन गरिने प्रवेश परीक्षा भादौं २५ देखि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा संचार प्रविधि केन्द्र, पुल्चोक, ललितपुर र पश्चिमाञ्चल क्याम्पस पोखरामा नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गरी तोकिएको स्थान, समय र शिफ्ट अनुसार संचालन गरिने जनाएको छ ।
त्रि.वि. वा त्यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिकशास्त्र, रसायनशास्त्र तथा ११ र १२ कक्षामा गणित विषय लिई प्रवीणता प्रमाणपत्र तह वा उच्च माध्यमिक तह वा ए लेभल वा इन्जिनियरिङ डिप्लोमा तह वा सो सरहको परीक्षामा कूल पूर्णाङ्गको कम्तिमा ४५% तथा राष्ट्रिय परीक्षा बोर्डको ग्रेड अनुसार न्यूनतम सी गे्रड प्राप्त गरी उत्तीर्ण गरेका वा कक्षा १२ वा सो सरहको अन्तिम परीक्षामा सम्मिलित भएका वा इन्जिनियरिङ डिप्लोमाको छैठों सेमेष्टरको परीक्षामा सम्मिलित भएका विद्यार्थीहरूले समेत आवेदन दिई प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन्
विद्यार्थीले संस्थानको वेभसाइट www.entrance.ioe.edu.np मा राखिएको प्रवेश परीक्षाको आवेदन फाराम आवेदक स्वयम्ले भरी अनलाइन बाट नै सोही वेभसाइट मार्फत सबमिट गर्नुपर्ने छ । साथै अनलाइन फाराम मिति भदौं ५ गते बिहान १०ः०० बजेदेखि भदौं १९ गते साँझ ५ः०० बजेसम्म भित्र भरिसक्नुपर्ने छ । खवर एजुकेशन