चिनियाँ विदेशमन्त्री छिन काङ पदमुक्त भएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उनको ठाउँमा वाङ यी नियुक्त भएका छन्। वाङ गत डिसेम्बरसम्म चीनका विदेशमन्त्री थिए। विदेशमन्त्री काङ तीन सातादेखि सार्वजनिक कार्यक्रमहरूमा नदेखिएपछि विभिन्न अड्कलबाजीहरु भइरहेका थिए।
गत जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका छैनन्। चिनियाँ राष्ट्रपति सी जिन पिङका विश्वासपात्र मानिएका काङले जुलाई पहिलो साता युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो। तर अन्तिम समयमा बेइजिङले उक्त भेटघाट निर्धारित समयमा सम्भव नभएको सन्देश पठाएपछि बोरेलको बेइजिङ भ्रमण रद्द भयो।
गत साता इन्डोनेसियाको जाकार्तामा भएको दक्षिण-पूर्वी एसियाली मुलुकहरूको संगठन आसियानका विदेश मन्त्रीहरूको बैठकमा पनि काङ सहभागी भएनन्। उनको साटो उक्त बैठकमा चीनका अर्का कूटनीतिज्ञ वाङ यीलाई पठाइएको थियो। यसअघि स्वास्थ्य अवस्थाका कारण आसियानको बैठकमा सहभागी नभएको बताइएको थियो। गत मंगलबार भएको चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले ‘स्वास्थ्यका कारण काङ इन्डोनेसिया जान नसकेको’ बताएका थिए। तर, सोमबार भएको नियमित पत्रकार सम्मेलनका क्रममा भने चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले ‘यसबारे तपाईंलाई दिन मसँग कुनै सूचना छैन’ भनेकी थिइन्। उनले चिनियाँ विदेश मन्त्रालयका गतिविधि पनि सामान्य रूपले चलिरहेको बताइन्।
विदेश मन्त्री काङ लामो समयसम्म सार्वजनिक रूपमा नदेखिएपछि स्वास्थ्यबाहेक अरू कारणबारे पनि चर्चा हुन थालेको छ। चीनबाहिर रहेका विश्लषेकहरूले एक जना टेलिभिजन प्रस्तोतासँग काङको सम्बन्ध पनि यो घटनाको कारण हुन सक्ने बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। जापानी सञ्चारमाध्यम कोयदो न्युजले ‘अतिरिक्त वैवाहिक सम्बन्ध’का कारण उनी सार्वजनिक कार्यक्रममा नदेखिएको उल्लेख गरेको छ। उनी हङकङमा रहेको फोनिक्स टिभीकी चर्चित प्रस्तोतासँग उनको सम्बन्ध रहेको ताइवान मिडियालाई उदृत गर्दै कोयदोले जनाएको छ। यसअघि सामाजिक सञ्जाल ट्विटरमा विदेशमन्त्री छिन काङ र ती महिना पत्रकारको फोटो र भिडियोहरु सार्वजनिक भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले स्पष्टिकरण पनि माग गरेको थियो।
चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना नेताहरू लामो समयसम्म सार्वजनिक रूपमा नदेखिँदा पनि त्यसबारे यथार्थ विवरणहरू सार्वजनिक गर्ने गरेको छैन। यसअघि पनि चिनियाँ राष्ट्रपति सी जिन पिङ एक महिनासम्म सार्वजनिक रुपमा देखिएका थिएनन्। उनी सार्वजनिक नहुनुको कारण पनि खुलाइएको थिएन।
सीको मन जितेका नेता
एक महिना अघिसम्म छिन सीका निकटस्थ मानिन्थे। सीको आशीर्वादबिना सो पदमा त्यति तीव्र गतिमा पुग्न सम्भव पनि थिएन। चीनको राजनीतिलाई नियाल्ने धेरैले उनलाई सीका ‘फेवरेट’ नेताका रुपमा चित्रित गर्थे। छिन दुई पटक विदेश मन्त्रालयको प्रवक्ता बने। २००५ देखि २०१० सम्म र २०११ बाट २०१५ सम्म। प्रवक्ताको दोस्रो कार्यकालमा उनी रहँदा चीनको कूटनीतिमा देखिनेगरी परिवर्तन भइरहेको थियो। त्यसअघि कम बोल्ने चिनियाँ कूटनीतिज्ञहरु मुखर र आक्रामक हुन थालेका थिए। त्यस्ता कूटनीतिज्ञलाई एक चिनियाँ ब्लकबस्टर एक्सन फिल्मको नामबाट ‘वुल्फ वारियर’ भन्न थालियो।
छिनले त्यस्तै वुल्फ वारियरको छवि बनाएका थिए। त्यसअघि उनी केही समय युरोपमा रहे। लन्डनस्थित दूतावासमा उनी मिनिस्टर पनि बने। त्यसपछि छिन बढुवा हुँदै चीनको उपविदेशमन्त्री बन्न पुगे। त्यसबेला उनको जिम्मेवारी थियो, सञ्चारमाध्यम र विदेश भ्रमणको प्रोटोकल हेर्ने। राष्ट्रपति सीका अनेकौँ विदेश भ्रमणको प्रोटोकल उनले नै हेरेका थिए। यही अवधिमा उनले सीको मन जितेको विश्लेषकहरु बताउँछन्। हालै बेलारुसका एक पूर्वकूटनीतिज्ञले छिनसँग आफूले काम गर्दाको अनुभव ट्विटरमा सार्वजनिक गरेका छन्। २०१५ मा राष्ट्रपति सीले बेलारुस भ्रमण गरेका थिए। त्यसको चाँजो मिलाउने क्रममा छिनसँग आफूले काम गरेको पावेल स्लुन्किनको भनाइ छ।
सीको भ्रमणभन्दा केही महिनाअघि नै त्यसको तयारी सुरु भएको, चिनियाँ कूटनीतिज्ञहरुसँग प्रोटोकलबारे हरेक दिन उही विषयमा छलफल गर्नुपरेको उनले बताएका छन्। उनका अनुसार भ्रमणको पहिलो दिन समाप्त भएपछि अर्कोदिन सीले म्युजियम भ्रमण गर्ने कार्यक्रम थियो। तर, म्युजियमको तयारीबारे बुझ्न छिन काङ राति २ बजे आएको उनले बताएका छन्। म्युजियमको कुन सिँढीमा पुग्दा संगीत बज्न सुरु हुन्छ? कहाँ रोकिने भन्नेबारे दोहो¥याएर बताउनुपरेको उनले बताएका छन्। जुलाई २०२१ मा सीले छिनलाई राजदूत बनाएर अमेरिका पठाए। जतिबेला दुई मुलुकबीचको सम्बन्ध कठिन चरणबाट गुज्रिरहेको थियो। उनको कार्यकालमा अमेरिकाले व्यापार तथा प्रविधिमा लिएका कठोर निर्णय, सिन्जियाङ, हङकङ, सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणजस्ता विवादमा गुज्रियो। अक्टोबर २०२२ मा केन्द्रीय समितिमा उनको बढुवा भएको थियो। त्यसबेलै उनी विदेशमन्त्री हुनसक्ने आकलन गरिएको थियो। तर, आश्चर्यजनक रुपमा बढुवा भएर सो पदमा पुगे पनि उनी लामो समय टिक्न सकेनन्।