स्थानीय ऐन संशोधन गर्न प्रतिनिधिसभा बैठक सर्‍यो

  माघ १६, २०७८

काठमाडौं — स्थानीय तह निर्वाचन ऐन र स्थानीय सरकार सञ्चालन ऐन संशोधन गर्न सरकारलाई समय आवश्यक परेपछि प्रतिनिधिसभा बैठक सारिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ सत्ता गठबन्धनको बैठकले २०७९ जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने समझदारी जुटाएपछि आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगन गरिएको हो ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले भने कोभिड–१९ को संक्रमणको जोखिम यथावत् रहेका कारण आइतबार बस्न नसक्ने भएको उल्लेख गर्दै प्रतिनिधिसभा बैठक माघ २६ गते १ बजे बस्ने गरी निर्धारण गरिएको सूचना जारी गरेका छन् । संसद् सचिवालयले आइतबारका लागि सम्भावित कार्यसूची सार्वजनिक गर्नुका साथै कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाइसकेको थियो ।

सत्ता गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठमा स्थानीय निर्वाचन गर्ने र त्यसका लागि कानुन संशोधन गरिने बताएका थिए । सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्न स्थानीय तह निर्वाचन ऐन, २०७३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन विधेयक तयार पार्न लागेको छ । यी ऐनका केही दफा संविधानसँग बाझिएको र केही संविधान प्रतिकूल भएको भन्दै सरकारले संशोधन गर्न लागेको हो ।

संसद् सचिवालयका एक अधिकारीका अनुसार सरकारले ऐन संशोधन विधेयक तयार पार्न समय मागेपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक स्थगन गर्न भनेका थिए । ‘सभामुखले सरकारसँग परामर्श गरेपछि महासचिवलाई २६ गतेका लागि बैठक सार्नुपर्ने भयो भन्नुभएको थियो,’ ती अधिकारीले भने ।

सम्बन्धित मन्त्रालयले विधेयक तयार पारेपछि मन्त्रिपरिषद्बाट पारित हुनुपर्छ । त्यसपछि संसद् सचिवालयको विधेयक शाखामा दर्ता गर्नुपर्छ । सरकारी विधेयक त्यसरी दर्ता भएको ५ दिनपछि र गैरसरकारी विधेयक ७ दिनपछि संसद् बैठकको कार्यसूचीमा राखेर बैठकमा पेस गर्न परिपक्व हुने प्रतिनिधिसभाको नियमावलीको व्यवस्था छ । निर्वाचन आयोगसँग सम्बन्धित विधेयक भएकाले प्रधानमन्त्री कार्यालयले विधेयक संसद्मा दर्ता गर्छ ।

आइतबारको बैठकको सम्भावित कार्यसूचीमा सहिद तथा पूर्वसांसद जगतबहादुर ताजपुरियाको निधनमा श्रदाञ्जली अर्पण गर्ने र थारू आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर