तुलसीपुर, ६ माघ । दाङ सहित देशभर चिसो बढेको छ । बुधवार सम्म सामान्य मौसम बदली भएकोमा आज(विहिवार)देखी मौसममा परिवर्तन आएको छ । गएराति देखी नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले गर्दा आजदेखी दाङ सहित देशभर मौसम बदली भएको छ । मौसम बदली भएपछि दाङमा पनि चिसो बढेको छ । विहान देखी बादल लाग्नुको साथै हुस्सु लाग्दा चिसो बढेको हो ।
मौसम विदका अनुसार अबको तीन दिन सम्म देशका विभिन्न ठाउँमा बर्षा र हिमपातको सम्भावना रहेको वरिष्ठ मौसमविद् बरुण पौडेले बताउनुभयो । पश्चिमी बायुको प्रणालीको प्रभावले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशसँगै देशभरको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली भएको छ भने तराईमा भने हुस्सु र कुहिरो लागेको उहाले जानकारी दिनुभयो ।
आज राती देशभर आंशिकदेखि सामान्य बदली भइ प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानहरुमा हल्का वर्षा हुने बताईएको छ । बर्षा र हिमपात भएपछि चिसो अझ बढ्ने सक्ने भन्दै स्वास्थ्य प्रति सावधानी अपनाउन मौसम विदले सुझाव दिएका छन् ।