जयन्ती चौधरी, तुलसीपुर
२२-पुस/ दाङको तुलसीपुर क्षेत्रमा पछिल्लो चार दिनयता कोरोनाको संख्या क्रमिक रुपमा उकालो लाग्दो छ । तुलसीपुरमा बिहीबारसम्म दुई विद्यायलयका विद्यार्थी तथा शिक्षकमा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण दर बढ्दै जान थालेपछि बालबालिकालाई विद्यालय पठाउन पनि जोखिम मोल्नु परिरहेको छ । तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीका अनुसार तुलसीपुर क्षेत्रमा चारदिनको अवधीमा ३८ जनामा कोरोना संक्रमण पुष्टि थपिएका छन् ।
यसअघि कोरोना संक्रमितको संख्या शुन्य जस्तैमा झरेको भएपनि पछिल्लो चार दिन यता क्रमिक रुपमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या वृद्धि हुदै गएको छ । कोरोना फोकल पर्सन केसीले दिएको जानकारी अनुसार तुलसीपुर क्षेत्रको हालसम्म दुई वटा विद्यालयमका विद्यार्थी तथा शिक्षकमा कोरोना पुष्टि भएको छ । बुधबार २८ जनामा गरीएको एन्टिजेन परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्येबाट ४ जना स्वास्थ्यकर्मी, ३ जना विद्यार्थी, एकजना भारतबाट आएको र अन्य सर्वसाधरण गरी १३ जनामा संक्रमण देखिएको छ । यसअघि सोमबार गरिएको आरटी एन्टीजेन्ट विधिबाट परिक्षण गर्दा आश्वरा माविका विद्यार्थी र शिक्षक गरी ८ जनामा संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै मेट्रो अस्पतालमा मंगलबार आरटी एन्टीजेन्ट विधिबाट गरिएको परीक्षणमा आश्वारा माविकै थप चार जना शिक्षक र ६ जना विद्यार्थी गरी थप १० जनामा संक्रमण पुष्टि भएको थियो । शिक्षक र विद्यार्थीमा संक्रमण पुष्टि भएपछि एक हप्ताको लागि सो विद्यालयको पठनपाठन बन्द गरिएको छ । त्यस्तै बुधबार राप्ती बाल एकाडेमीका दुई जना विद्यार्थीमा पनि संक्रमण पुष्टि भएको केसीले जानकारी दिएका छन् ।
अन्य एकजना विद्यार्थीको ठेगाना नखुलेको पनि उनले बताए । चारदिनको अवधिमा तुलसीपुरमा तेस्रो लहरको कोरोना संक्रमण हुनेमा ३८ जना पुगेका छन् । संक्रमण पुष्टि हुने सबैले खोप लगाएको केसीले बताएका छन् । त्यस्तै अहिलेनै ‘हटस्पट’ मानिहाल्नु पर्ने, डराउनु पर्ने अवस्था आइनसेको बताए । यदि विद्यालयका शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण बढी देखिएमा विद्यालयहरु बन्द गर्नुको विकल्प नरहेको उनको भनाई छ ।
संक्रमितहरुको अवस्था सामान्य रहेको छ । त्यस्तै बिहीबार ओमिक्रोन हो होइन भनेर परिक्षणका लागि ‘सेम्पल’ पठाउन लागेको समेत उनले बताए । साथै विद्यायललाई शिक्षा शाखाहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न गराउन भनि बिहीबारदेखि पत्राचार गर्न शुरु गरिएको समेत उनले जानकारी दिए । विद्यार्थी, शिक्षकलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कडाइ गर्ने समेत बताए ।
त्यस्तै एक हप्ताभित्र १८ वर्ष माथि कोरोना खोप लगाउन छुटेकालाई जोनसोन एण्ड जोनसोनको पहिलो मात्रा खोप लगाउने तयारी रहेको बताए । त्यस्तै संक्रमण पुष्टि भएका ३८ जना मध्यबाट दुई जना राप्ती प्रादेशिक अस्पतालको कोरोना इकाईमा रहेका छन् । भने अन्य संक्रमितहरु होम आइसोलेसनमा रहेको केसीले जानकारी दिए ।
आठ पालिकामा शून्य संक्रमित
त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले दिएको जानकारी अनुसार जिल्लामा आठ स्थानीय तहमा कोरोना संक्रमितको संख्या शून्य छ । भने तीन वटा पालिकामा गरी हालसम्म जिल्लामा ५ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म जिल्लामा १२ हजार ९३३ जना (एन्टिजेन टेष्ट बाहेक) मा पुष्टि भएको छ । भने तीन सय बढीको मृत्यु भएको बताए । कोरोना संक्रमण मुक्त हुनेको संख्याको १२ हजार ६५७ रहेको छ । त्यस्तै तत्काल समुदायमा गएरै अभियानको रुपमा कोरोना परिक्षण दर बढाउने कार्यविधि बनाएको पनि उनले बताए ।
१० पालिकामा स्वास्थ्य परिपत्र लागू
दाङका जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कोरोना भाइरस संक्रमण विरुद्धको खोप अनिवार्य रुपमा लगाउनु पर्ने बताएका छन् । जिल्लामा खोपको पहँुचबाट बञ्चित रहेका नागरिकलाई खोपको पँहुचसम्म पु¥याउनेका निमित्त व्यापक रुपमा प्रचारप्रसार गर्ने र खोपको पहँुचलाई वृद्धि गर्ने रहेको बताए ।
स्वास्थ्य मन्त्रालयले शनिबार ओमिक्रोन थप फैलन नदिन ७७ वटै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन भन्दै परिपत्र जारी गरेको छ । सोही परिपत्रलाई टेकेर जिल्लामा सावधानी अपनाइएको प्रमुख रेग्मीले बताए । ‘नो खोप नो इन्ट्रि’को निति अवलम्बन गराउने कार्यक्रम रहेको समेत बताए ।
त्यस्तै पुस ६ गते डिसिएमसिसीको बैठक बसेर स्थानीय पालिकाहरुको स्वास्थ्य शाखाहरुले आफ्नो व्यवस्था आफैं गर्ने भनेर निर्देशन समेत दिइसकेको उल्लेख गरे । त्यस्तै सार्वजनिक रुपमा भेला, जुलुस लगायतका कार्यक्रम नगर्न गृह मन्त्रालयले परिपत्र गरि नसकेकाले बन्द गराउने भन्ने त छैन् तर जुलुस, भेला लगायतको कार्य नगर्न सचेतना फैलाउन आग्रह गरे ।
त्यस्तै जिल्लामा ओमिक्रोन भाइरसको प्रभाव नपरेको बताए । तर जिल्लामा चिसोका कारणले सामान्य रुघाखोकी, ज्वरोलगायतका सामान्य लक्षणहरु देखा पर्ने हुँदा स्वास्थ्यले सुक्ष्म तरिकाले हेरिरहेको उनको भनाई छ । साथै भाइरसका नयाँ-नयाँ भेरिययन्टहरू आउँन सक्ने सम्भावना कायमै रहेको हुँदा स्वास्थ्य मन्त्रालयको निर्देशिका र जनस्वास्थ्य मापदण्डको पूर्णपालना गर्न तथा भीडभाडमा मास्क लगाउन र खोप लगाउन छुटेका सबैलाई समयमा खोप लगाउनसमेत आग्रह गरेको छ ।