असोज १० काठमाडौं / तालिबानले अफगानिस्तानको हेरात सहरमा अपहरणमा संलग्न रहेको आरोप लागेका चार जनालाई मृत्युदण्ड दिएर उनीहरुको शव सार्वजनिक स्थानमा झुण्ड्याइएको बताएको छ ।
बीबीसीकाअनुसार तालिबानका एक अधिकारीले अफगानिस्तानमा यसअघिको तालिबानको शासनकालमा जस्तै सार्वजनिक स्थलमा मृत्युदण्डको व्यवस्था लागू हुन सक्ने बताएको केही दिनमा नै तालिबानले सार्वजनिक स्थानमा शव झुण्ड्याउन थालेको हो । अल जाजिराले भने हेरातमा चार जनालाई मृत्युदण्ड दिइएको भए पनि एकजनाको शव मात्र झुण्ड्याइएको बताएको छ ।
तालिबानले मृत्युदण्ड दिएका मानिसहरुमाथि एक व्यवसायी र उनका छोरालाई अपहरण गरेको आरोप थियो । स्थानीयका अनुसार हेरात सहरको केन्द्रमा एक जनाको शवलाई क्रेनमा झुण्ड्याइएको थियो ।
हेरातका एक व्यापारी वाजिर अहमद सिद्दिकीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीसँगको कुराकानीमा चारओटै शव ल्याइएको भए पनि उक्त स्थानमा एउटा शवमात्र झुण्ड्याइएको र अन्य तीन शव सहरको अन्य स्थानमा झुण्ड्याउनको लागि लगिएको बताए ।
हेरातका डेपुटी गभर्नर मौलावी शाइरले अपराधीहरुलाई निरुत्साहित गर्न शवहरु झुण्ड्याइएको बताएका छन् । उनका अनुसार तालिबानले एक व्यवसायी र उनको छोराको अपहरण भएको थाहा पाएसँगै छुटाउने क्रममा भएको दोहोरो झडपमा उनीहरु मारिएका थिए । यद्यपि उनीहरुको मृत्यु कसरी भएको थियो भन्ने स्वतन्त्ररुपमा पुष्टि भने हुन सकेको छैन । सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा क्रेनमा झुण्ड्याइएको शवको छातीमा ‘अपहरणकारीलाई यस्तै सजाय हुनेछ’ लेखिएको छ ।