संखुवासभा हत्याकाण्ड,लोकबहादुरका भाइसहित अन्य ४ जना अनुसन्धानमा तानिए

  असोज ०३, २०७८

असोज ३ संखुवासभा / संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ ।

एकै परिवारका ६ जनाको हत्या भएको सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि चार जनालाई तानिएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए । घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशंकामा अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

उनका अनुसार सो घटनामा संलग्न रहेको आरोपमा स्थानीयबासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ। नियन्त्रणमा लिएको अन्य चार जनामाथि प्रहरीले अनुसन्धान थालेको प्रवक्ता प्रहरी उपरीक्षक राईले बताए । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रमा पुगेको प्रवक्ता राईको भनाइ छ।

घटनाबारे थप प्रमाण फेला परेपछि संघीय एकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरीसहित छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिए । रासस

तपाईंको प्रतिक्रिया

थप खबर